२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता

१६ असार, काठमाडाैँ । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत काठमाडौँमा आज उनीविरुद्ध परिवर्तित नाममा मुद्दा दर्ता भएको हो। साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए। उक्त कार्यक्रम भिडिओ, स्कृनसर्ट कागजातहरू समेत अभियोग पत्रका साथ पेस गरिएको छ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा १ लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १७:१५