दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?
९ असार, काठमाडौं। दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र गुल्मि जिल्ला मुसिकोट नगरपालिका, बाग्लुङ जिल्ला गलकोट नगरपालिका, बाग्लुङ जिल्ला बडिगाड गाउँपालिकाका स्थानिय वासिन्दाहरुका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५८ हजार ३९० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।
सो आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २३ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोट शाखा,प्रभु बैंकको गलकोट शाखा,दरमखोला पावर हाउस र आवश्यकताअनुसार स्वीकृती लिएपछि अन्य संकलन केन्द्रहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०९:१९