३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान पुन

२५ वैशाख, काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरुले बिचौलिया भन्दै आएको उनको भनाइ थियो ।

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरु बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरुले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए ।

“हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं”, पुनले भने, “कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौं । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।”

पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरु आफैं खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

पुनले कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न आग्रह गरे । अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रष्टीकरण पुनले दिए । “चालु आर्थिक वर्षको बजेट बनाउँदै गर्दा मैले कुनै अमुक व्यापारिक घरानालाई फाइदा र कसैलाई घाटा हुने गरी करका दर हेरफेर गरिन । यो कुरा म आज पनि सबै व्यवसायीका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्छु”, पुनले भने, “अहिलेका अर्थमन्त्रीलाई पनि म कसैको दबाबमा नपरी त्यसै गर्न सुझाव दिन चाहन्छु । ”

प्रकाशित मिति : May 8, 2025 at 6:43 pm