सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी योजना बनाउन प्रहरी महानिरीक्षक केसीको निर्देशन
२२ कात्तिक, काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले आसन्न चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले चाडपर्वका समयमा उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
प्रहरीका अनुसार उनले चाडपर्वका बेला हुन सक्ने विभिन्न सुरक्षा चुनौतीप्रति पूर्वसजग रहँदै शान्ति–सुरक्षा कायम गर्न र नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्न मातहतका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

केसीले प्रहरीको कार्यसम्पादनमा उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै पूर्ण व्यावसायिक र परिणाममुखी ढंगले काम गर्नसमेत निर्देशन दिएको प्रहरीले जनाएको छ ।
निर्देशन कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौं उपत्यकाका जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा गण र गुल्मका प्रमुखलगायत विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।
प्रहरी महानिरीक्षक केसीले चाडपर्वका समयमा नागरिकको सुरक्षा, आवागमन व्यवस्थापन तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति : November 8, 2026 at 11:45 am










