१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

-विष्णु रिमाल

उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे।

प्रत्येक चुनौति चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
‘जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौति सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सहि—
असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैं
उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि?!
कतै औंला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ।’

अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा-भाँडा’हरू
बज्न नदेउ न !

ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरुले उनीहरुका घरमा,
जे गरुन–बाल मतलव!

(रिमाल नेकपा (एमाले)को उपमहासचिव एवं प्रधानमन्त्रीको मुख्य सल्लाहकार हुनुहुन्छ । उहाँले फेसबुकमा सार्वजनिक गरेको यो व्यंग्यात्मक सिर्जना यहाँ साभार गरिएको हो । प्रधानसम्पादक)

प्रकाशित मिति : December 29, 2024 at 9:45 am