११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

मीनबहादुरको चन्दामा प्रश्न गर्ने पाण्डे र तिमल्सिना एमालेको कारबाहीमा, जिम्मेवारी खोसियो

१० पुस, काठमाडौँ । नेकपा (एमाले)ले व्यवसायी मीनबहादुर गुरूङले एमालेका लागि दिने चन्दाका बारेमा प्रश्न गर्ने दुई नेता कारबाहीमा परेका छन । बुधबार ललितपुरको च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको हो ।

एमालेले दुबै नेताको जिम्मेवारी ६ महिनाका लागि खोसेको छ । उहाँहरूले मीनबहादुरको चन्दाका बारेमा नैतिकताको प्रश्न उठाउनुभएको थियो । त्यसपछि एमलेले गत कात्तिक ४ गते बसेको सचिवालय बैठक मार्फत स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । उहाँहरूले दिएको स्पष्टिकरण समेत चित्त नबुझ्दो भएकोले कारबाही गरिएको एमालेले जनाएको छ ।

चन्दाको विषयमा फरक मत राखेको भन्दै एमालेले पाण्डे र तिमल्सिना माथि कारबाही गरेको हो । पाण्डे र तिमल्सिना माथि जे विषयमा एमालेले प्रश्न गरिएको थियो त्यो विषय सर्वोच्च अदालत एमालेलाई नै गरेपछि यो विषयमा पार्टी नै अलमलमा परेको थियो ।

dainiki.com

केही दिनअघिमात्र व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गरेर दिन खोजेको दान सर्वोच्च अदालतबाटै सदर भयो । दानको विरूद्धमा परेको रिट खारेज गरेर सर्वोच्च अदालतले भवन निर्माणको बाटो खोलिदिएपछि पार्टी नेतृत्वलाई स्पष्टिकरण सोधिएका नेतामाथि कारबाही गर्ने बाटो पनि खुलेको थियो ।

गुरूङले करिब डेढ अर्बको लगानीमा कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा एमालेका लागि अत्याधुनिक केन्द्रीय कार्यालय निर्माण गरी हस्तान्तरण गरिदिने घोषणा गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दान प्राप्ति रोक्न नपर्ने डहरसहित रिट निवेदन नै खारेज गरिदिएको हो । योसँगै एमालेका लागि केन्द्रीय कार्यालय निर्माण गर्ने बाटो खुलाभयो । नेपाली कांग्रेसका नेता दिनेश त्रिपाठीसहितका अधिवक्ताले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले रिट खारेज गरेको दुई साता नबिल्दै एमालेले चन्दामा प्रश्न उठाउने नेतामाथि कारबाही गरेको हो । यस्तै एमालेले बुधबार नै दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएका पूर्व उपाध्यक्ष डा भीमबहादुर रावल पार्टीको संगठित सदस्य समेतबाट बर्खास्त गरेको छ ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १९:२१