१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चीन भ्रमणबारे सरोकारवालासँग सल्लाह लिँदै प्रधानमन्त्री ओली

१० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमणको रूपमा गर्न लागेको चीन भ्रमणका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामिलाका विज्ञहरूलाई निमन्त्रणा गर्नुभएको छ ।

पाँच दिनको भ्रमण कसरी प्रभावकारी बनाउने भन्ने बारेमा प्रधानमन्त्रीले छलफल केन्द्रित गर्ने बुझिएको छ । प्रधानमन्त्रीहरूले अर्को देशको औपचारिक भ्रमण गर्दा सरोकारवालाहरूसँग राय सल्लाह लिने प्रचलन रहेको छ ।

प्रधानमन्त्रीले चीन भ्रमणमा उठाउने एजेण्डा र छलफलका विषयमा छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी भए पनि औपचारिक रूपमा भ्रमणको मिति तय भएको छैन ।

dainiki.com

चीनको विकास सम्बन्धी अवधारणा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनमा लैजाने मुडमा प्रधानमन्त्री देखिनुभएको छ । यसअघि प्रधानमन्त्री हुँदा चीनसँग परवाहन सम्बन्धी सम्झौता गरेर भारतसँगको एकाधिकार तोड्नुभएको प्रधानमन्त्री ओलीले नेपालको हितमा हुने गरी बिआरआई कार्यान्वयनमा लैजाने चाहने राख्नुभएको छ ।

चिनियाँ पक्षले पनि बिगतदेखि नै कार्यान्वयन सम्झौतामा चासो दिँदै आएका छन । तर नेपालमा अमेरिकाको इन्डोप्यासिफक रणनीतिको पक्षमा वकालत गर्नेहरूको प्रभाव बढ्दै गर्दा बिआरआईको विषय ओझेलमा परेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०९:५२