७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सत्तामा रहेको एमालेले आज सडकमा शक्ति परीक्षण गर्दै, एक लाख कार्यकर्ता उतार्ने दाबी

७ मंसिर, काठमाडौँ । नेकपा एमालेले जागरणसभाको नाममा आज शुक्रबार सडक मार्फत आफ्नै शक्ति परीक्षण गर्दै छ । गत निर्वाचनमा लोकप्रिय मतमा पहिलो बनेको एमालेले उपनिर्वाचनको पूर्वसन्ध्यामा काठमाडौँको सडकमा आफ्नो शक्ति परीक्षण गर्न लागेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको रहरमा एमालेले सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो । काठमाडौँ उपत्यकास्तरीय पार्टी कमिटीहरूको संयुक्त आयोजनामा हुन गइरहेको जागरणसभामा एमाले काठमाडौँ उपत्यका आसपासका जिल्लाहरूबाट समेत कार्यकर्ता बसमा ओसार्दैछ ।

सुरूमा भृकुटीमण्डमा सभा गर्ने तयारी गरेको एमालेले ४८ घण्टा अघि सभास्थल परिवर्तन गरेर अहिले दरबारमार्गमा सभा गर्ने निर्णय गरेको छ । दरबारमार्गमा हुने एमालेको सभामा झण्डा एक लाख कार्यकार्ता र शुभेच्छुक उपस्थित हुने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिने जनाइएको छ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले जागरणसभाको पूर्वसन्ध्यामा सञ्चार मध्यमका सम्पादहरूसँगको अन्तरसंवादमा राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताउनुभएको थियो ।

उपमहासचिव ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबैक्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताउनुभयो ।

नेता ज्ञवालीले भन्नुभयो, “पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन सबैसँग अपिल गर्दछु ।”

उपमहासचिव ज्ञवालीले नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको यस अवधिमा देखिएका कमीकमजोरीलाई शुक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला भएका सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ०८:१८