प्रचण्डको द हिन्दूको अन्तर्वार्तामा एमालेको आपत्ति, नेपाली जनतासँग माफी माग्न अपिल
१ मंसिर, काठमाडौँ । नेकपा एमालेले भारतीय पत्रिका द हिन्दूमा अन्तर्वार्ता मार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा आपत्ति जनाएको छ ।
शनिबार बिदाको दिन पार्टी कार्यालयमा परराष्ट्र विभागको अनौपचारिक बैठक नै राखेर एमालेले विज्ञप्ति जारी गर्दै प्रचण्डको हिन्दूसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गरेको छ । एमालको परराष्ट्र विभागका प्रमुख रघुबीर महासेठले अंग्रेजी भाषामा प्रकाशित गरेको विज्ञप्तिमा केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गरी चीन भ्रमणको निर्णय गरेर अपरिपक्वता देखाएको भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य रहेको उल्लेख गर्नुभएको छ ।
एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको पनि बताएको छ । एमाले विज्ञप्तिमा प्रचण्डको भनाइ निराधार मात्र नभइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि हानिकारक रहेको बताएको छ । एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ । द हिन्दूले प्रकाशित गरेको प्रचण्डको अन्तर्वार्ता अनलाइनखबरले नेपाली भाषामा उल्था गरेर छापेको छ ।
प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार १७:५७