७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सरकार चलाउन कांग्रेस-एमालेको छुट्टै संयन्त्र, सरकार ढल्ने हल्ला कम गर्न कि काम गर्न ?

२१ कात्तिक, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संयन्त्र गठन गरेका छन् । एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको जानकारी दिनुभएको छ ।

केन्द्रीय सरकार सञ्चालन गर्ने संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गर्नुभएको छ भने नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्नुहुनेछ । उक्त संयन्त्रमा एमालेबाट उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहनुभएको उपमहासचिव विष्णु रिमाल रहनुभएको छ ।

त्यस्तै कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य समेत रहनुभएको गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य समेत रहनुभएको परराष्ट्रमन्त्री आरजु राणा देउवा रहनुभएको छ । गाैतमका अनुसार प्रदेशमा तीन/तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई/दुई जना रहने गरी संयन्त्र बनाइने समेत नेता गौतमले जानकारी दिनुभयो ।

सत्ताको नजिक रहेर राज्य स्रोतको दुरूपयोगमा सहभागी हुन नपाएको विचौलियाको एउटा समूहले मिडिया ट्रयाल गर्दै सरकार ढल्ने हल्ला चलिरहेको सयममा सत्तारूढ पार्टीले गरेको यो निर्णय निकै महत्वपूर्ण मानिएको छ । यो निर्णय हल्ला कम गराउन हो वा सरकारकै काम प्रभावकारी बनाउन हो त्यो चाहिँ भविष्यले देखाउने छ ।

प्रधानमन्त्रीका मुख्य साल्लाहकारदेखि सञ्चारमन्त्री सम्मले सरकार ढाल्ने खेलहरू भैरहेको भन्ने अभिव्यक्ति दिइरहेको समयमा बनेको यो संयन्त्र जिल्ला तहसम्म नै विस्तार गर्ने निर्णय हुनुले सरकार ढुक्कले निर्वाचनसम्म नै जान्छ भन्ने सन्देश दिनकै लागि हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार २०:११