२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

प्रधानमन्त्री अोलीको अगुवाइमा सामाजिक सुरक्षाको क्षेत्रमा भोलिबाट एउटा नयाँ युगको सुरूवात हुँदै

१० मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो सामाजिक सुरक्षा दिवसलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन सबैमा अनुरोध गरेको छ। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय गरिसकेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा नारायण रेग्मीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार देशभर एकैपटक कार्यक्रम लागू भएको घोषणा गर्नेछन्। श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी कार्यक्रमको निर्माण गरेको छ।

कार्यक्रम लागू भएपछि देशमा सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको शुरुवात हुनुका साथै दिगो व्यावसायिक वातावरण, असल श्रम सम्बन्धको निर्माण र आम श्रमिकको मर्यादित जीवनका लागि सर्वाधिक महत्व राख्ने मन्त्रालयका प्रवक्ता रेग्मीले बताए । सहभागिता, योगदान र सामाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा कार्यक्रममा समेटिएका छन्।

उनले श्रमिक र रोजगारदाताले गरेको योगदानले श्रमिकको सुरक्षित भविष्य सुनिश्चित गरी सबै श्रमिकलाई लाभ पुग्ने विश्वास व्यक्त गरे। नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ।

सोहीअनुरुप नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारले विभिन्न सामाजिक सुरक्षा प्राप्त गर्नेछन्। श्रममन्त्री विष्टको अगुवार्इमा भएको यस कार्यक्रमलार्इ वर्तमान सरकारको सबैभन्दा ठूलो सफल कामको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार २२:०८