लुम्बिनी विकास बैंकको वित्तीय विवरणः नाफासँगै घट्यो प्रतिसेयर आम्दानी
१२ साउन, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको थियो। बैंकको सञ्चालन मुनाफा ७.७० प्रतिशतले घटेर ८६ करोड ७३ लाख रुपैयाँ कायम भएकाे छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ९४ करोड १९ लाख रुपैयाँ थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो। बैंकको रिजर्भको आकार १६.१० प्रतिशतले बढेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।
असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंककाे एनपीएल १.६८ प्रतिशत थियो।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.११ रुपैयाँ कायम भएको छ। याे अवधिसम्ममा बैंकको पीई रेसियो २२.८१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १०:०२