२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कपुरकोट गाउँपालिका उपाध्यक्षको उर्दीः चन्दा नदिए सडकमा गाडी चल्न दिइन्न !

१८ साउन, सल्यान । सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले चन्दा नदिए गाडी चल्न नदिने चेतावनी दिएका छन । हाल उनले गाउँपालिका भित्रका सडकमा उद्योगका सवारीसधानको आवागमनमा प्रतिवन्धन लगाएका छन ।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएका भण्डारीले कपुरकोट, निगायलघारी हुँदै रोल्पा चुनढंगा उत्पादन गर्ने क्षेत्रमा जाने घोराही सिमेन्ट र सम्राट सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगका सवारी दुई महिनादेखि सञ्चालनमा रोक लगाएका छन ।

उपाध्यक्ष भण्डारीले पैसा मागेको तर नदिएपछि उनी सवारी सञ्चालनमै रोक लगाएको उद्योगीहरूले बताएका छन । उपाध्यक्ष भण्डारीले एकराज वली र सन्तोष बुढाथोकी प्रयोग गरेर सडकमा सिमेन्ट कम्पनीका गाडी संचालनमा रोक लगाएका हुन् ।

खासमा कपुरकोट हुदै त्यस क्षेत्रमा जाने रोल्पा सिमेन्टले आफ्नै लगानीमा सडक निर्माण गरेको थियो । निर्वाचन अघिसम्म सडकमा गाडी सञ्चालनमा कुनै रोकतोक थिएन । तर एकाएक निर्वाचनपछि उपाध्यक्ष भण्डारीले स्थानीय युवाको प्रयोग गरी गाडी सञ्चालनमा रोक लगाएका छन् ।

कपुरकोटको अध्यक्ष भने नेकपा९एकीकृत समाजवादी०को तर्फबाट दुर्गाबहादुर पुन निर्वाचित भएका हुन् । अध्यक्षले भने सडक गाउँपालिकाको समग्र विकासका लागि सहयोगी भएको भन्दै सवारी सञ्चालनमा रोक लगाएर उद्योगीलाइ दुःख दिन नहुने बताएका छन ।

उपाध्यक्ष भण्डारीले भने अध्यक्षको इच्छा बिपरित गाडी संचालनमा रोक लगाएका छन् । उनले तीन वटा सिमेन्ट कम्पनीले २० लाख रुपैयाँ नदिँदासम्म गाडी संचालन गर्न नदिने बताएको एक उद्योगीले दैनिकीलाई बताए ।

उद्योगीले महिनादेखि गाडी संचालन गर्न पाएका छैनन् । आफैंले निर्माण गरेको सडकमा गाडी संचालन गर्न नपाएपछि दैनिक लाखौंको नोक्सानी बेहोनुपरेको उद्योगीको गुनासो छ ।

मुलुक भित्र उत्पादित सिमेन्ट उद्योगले अहिले विदेश निर्यात गर्न समेत सुरु गरेका छन् । यसरी विदेशी मुद्रा भित्राउन लागिपर्ने उद्योगीलाई गुण्डागर्दीको शैलीमा उधोगीलाई हतोत्साहित गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १२:२६