१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताए ।

उनले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताए ।

‘डिबेन्चर, ऋणपत्र, धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणहरूलाई पनि लगानीको परिभाषामा समेटिएको छ । त्यसैले एउटा क्लस्टर दफा २ अन्तर्गत परिभाषा र कार्यक्षेत्रको विस्तारसम्बन्धी छ,’ उनले भने, ‘अहिले ८ अर्ब रुपैयाँबाट यसलाई १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ । सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।’

उनका अनुसार पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्ने उद्देश्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा ध्यान दिनुपर्ने उनले बताए ।

विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

‘हामीले निर्वाचनमा होमिँदै गर्दा मध्यम वर्गको विस्तारलाई सबैभन्दा मूल विषय बनाएका थियौँ । मध्यम वर्गको विस्तारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधुनिक सेवा र आवासजस्ता विषयमा पनि ध्यान दिने भनेका थियौँ । त्यस्तै सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न धाराहरूलाई पनि अद्यावधिक गर्ने उद्देश्य हो,’ उनले भने ।

विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उनले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताए । यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । त्यस्तै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी कोषको पुँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्‍याउने तथा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति : November 25, 2026 at 4:05 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/