बीमितलाई प्राधिकरणले भन्यो, दाबी भुक्तानीमा समस्या भए प्रमाणसहित उजुरी गर्नुहोस्
९ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाउन विभिन्न व्यवस्था रहेको जानकारी गराएको छ।
प्राधिकरणले बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउने उद्देश्यले नियामकीय तथा नीतिगत व्यवस्था गर्दै आएको जनाउँदै दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन सम्बन्धित सबैलाई जानकारी गराएको हो।
प्राधिकरणका अनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रबमोजिम तोकिएको समयावधिभित्र बीमकले बीमा दाबी फर्छ्योट गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ।
त्यस्तै, बीमितको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत सेवा प्रदान हुँदै आएको छ। बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाअनुसार दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गर्ने, झन्झट दिने वा भुक्तानी नगर्ने गरेमा बीमितले आवश्यक प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
यसैगरी, हेलो सरकारमार्फत प्राप्त बीमासम्बन्धी गुनासोहरू पनि यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले बीमितलाई आफ्नो दाबी भुक्तानीमा कुनै समस्या वा ढिलाइ भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने व्यवस्थाबारे जानकारी गराउँदै बीमा सेवा प्रवाहलाई थप प्रभावकारी र बीमितमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति : November 25, 2026 at 3:43 pm














