१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सत्ताको बलमा त्रिविमा नेविसंघको गाईजात्रा, सेवा आयोगको ताला खोल्न अनेरास्ववियुको माग

१५ साउन, काठमाडौँ । नेपाल विद्यार्थी संघले सत्ताको बलमा त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । नेविसंघले एक वर्षदेखि विभिन्न बहानामा त्रिविको विभिन्न निकायमा तालाबन्दी गर्ने र प्राज्ञिक कामहरूमा अबरोध सिर्जना गर्दै आइरहेको छ । त्रिविमा नेविसंघले सत्ताको बलमा गाईजात्रा नै प्रदर्शन गरिरहेको छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले आइतबारदेखि सुरु हुने भनिएको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरिएको जानकारी दिए । उनले त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको बताए ।

नेविसंघले पछिल्लो पटक सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा अबरोध गर्ने उद्देश्यले तालाबन्दी गरेको हो । उसले सेवा आयोगमा नेपाली कांग्रेस निकटको व्यक्तिको नियुक्ति नहुँदासम्म तालाबन्दी जारी राख्ने जनाएको छ । अहिलेकै संरचनामा कांग्रेस कार्यकर्ताको त्रिवि प्रवेश सहज नरहेको निष्कर्षसहित नेविसंघले प्राध्यापक र सहप्राध्यापकको प्रतिस्पर्धामा रहेका केही कांग्रेसी कार्यकर्ताको प्रयोजनामा तालाबन्दी गरेको स्वयं नेविसंघका नेताहरूले बताएका छन ।

ताला किन लगाइयो भन्ने विषयमा नेविसंघका प्राय नेताहरू नाजवाफ रहेका छन । गृह प्रशासनले नै प्रहरीलाई त्रिविमा जेसुकै गतिबिधि नेविसंघले गरे पनि कुनै प्रतिक्रिया नजाउन निर्देशन दिएको छ । जुन कुरा प्रहरी अधिकारीले पटक पटक बताएका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १३:४५