२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

देउवाको दासताबाट प्रेस युनियन मुक्त, पदाधिकारीमा सबैजसो लम्साल समूहका विजयी

८ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले पार्टी सभापति शेरबहादुर देउवाको दासताबाट मुक्ति पाएको छ । शुक्रबारदेखि हेटौँडामा जारी अधिवेशनले सत्ता र शक्तिको सम्पूर्ण दुरूपयोग मतदानबाट अस्वीकृत गर्दै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा शिव लम्साल विजयी भएका छन ।

केहीबेरअघि सम्पन्न मतपरिणाम अनुसार केही पदमा बाहेक पादधिकारीमा सबैजसो लम्साल प्यानलबाट विजयी भएका छन । तीन वर्षमा हुनुपर्ने अधिवेशन ८ वर्षपछिमात्र भएको हो । अहिले नेतृत्वमा आएकाहरूले पाँच वर्षदेखि प्रेस युनियनको अधिवेशनकै लागि पार्टी सभापतिसँग पटक पटक लड्दै आएका थिए ।

पछिल्लो पटक तत्कालीन कार्यसमितिबाटै सलोजा दाहालको नेतृत्वमा बिद्रोह भएपछि देउवा अधिवेशन गर्न दिन बाध्य भएका थिए । अधिवेशनबाट देउवा समूहका उम्मेदवारहरू धेरैजसो अस्वीकृत भएका छन । अध्यक्षमा लम्सालले संस्थापनकी अनिता विन्दुलाई पराजित गरे । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन ।

युनियनको वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि लम्साल प्यानलकै प्रेस केसी र दिलिप पौडेल विजयी भएका छन । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् । महिला उपाध्यक्षमा सलोजा दाहाल विजयी भएकी छिन भने कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् । देउवा समर्थित समूहका उम्मेदवार हुन । अधिवेशनमा गुट परिवर्तन गरेर अर्को समूहका उम्मेदवार बनेका भने झन नराम्रोसँग पराजित भएका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार २०:०७