२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

ओलीले बालेन्द्रलाई तबला उपहार दिएपछि एमाले उपाध्यक्ष पौडेलले भने– यम वुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य छ

३० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् । यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख शाहले काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा यम बुद्धका शालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । शालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

शालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए । शालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरुले पनि आलोचना गरेका थिए । तर बुधबार ओलीले बालेनलाई तबला दिए लगत्तै विष्णु पौडेलले यमबुद्धको शालिक बनाउने कुराको प्रशांशा गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १२:४३