६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सिफारिस लिन गएका सेवाग्राहीलालाई वडा अध्यक्षले झापड हाने

-विशाल बस्नेत

२४ असार, महोत्तरी । सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ । वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास-९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् । घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा-९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन बिहीबार वडा कार्यालय पुगेका थिए ।

पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो । ‘काकीको सिफारिसको लागी मैले वडा अध्यक्षलाई अनुरोध गर्दा एक्कासि रिसाउनुभयो,’ पीडित भनिएका महतोले भने ।

सामान्य विवाद हुन थालेपछि वडा अध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए । यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए । पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्‍याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १०:४२