२६ भदौ २०८३, शुक्रबार | Sat Sep 12 2026

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्काशन गर्ने

१३ जेठ, काठमाडाैँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा असार ७ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : May 27, 2022 at 10:47 am