नयाँ वित्तीय उपकरण विकास गर्न सेबोनले गठन गर्यो सात सदस्यीय समिति
१५ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले नयाँ वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ ।
बोर्डका कामु कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन् । समितिले नेपालको धितोपत्र बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी विभिन्न प्रकारका वित्तीय उपकरणको कारोबार गर्न सक्ने बहुआयामिक बजारका रूपमा विकास गर्न आवश्यक अध्ययन गर्नेछ ।

यसका लागि कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, सामूहिक लगानी कोष, घरजग्गा लगानी कोष तथा पूर्वाधार लगानी कोषजस्ता उपकरणको विकास र सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत संरचना तयार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
त्यस्तै, वस्तु तथा मुद्रा विनिमयसँग सम्बन्धित भविष्यमा गरिने कारोबारका उपकरणको विकास र सञ्चालनबारे समेत समितिले अध्ययन गर्नेछ । यस्ता उपकरणलाई चरणबद्ध रूपमा धितोपत्र बजारमा भित्र्याउन आवश्यक कानुनी व्यवस्था, बजार संरचना र प्राविधिक तयारीलाई प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति : November 1, 2026 at 3:27 pm










