विप्लवकै इशारामा प्रकाण्ड पक्राउ ! यसरी उठाइएको रहेछ चन्दा (सूचीसहित)
६ भदाैँ, काठमाडाैँ । नेत्र विक्रम चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेसँगै धेरै खाले अड्कालबाजी समेत चलेको थियो । त्यही अड्कालबाजीमा एउटा थियो । अार्थिक हिनामिना गरेपछि प्रकाण्डलार्इ विप्लव अाफैँले पक्राउ गर्न लगाए । त्यही हल्लाकाे बीचमा प्रकाण्डको डायरीबाट कसले कति चन्दा दिने खोजेको र दिएको भन्ने केही बिबरण समेत अाजको जनअस्था साप्ताहिकले सार्वजनिक गरेको भनेर समावेशीअनलाइनले प्रकाश गरेको छ ।
जनताबाट निर्वाचित सरकार छ । उसले आवश्यकताअनुसार क्षेत्र निर्धारण गरेर कर संकलन र सेवाप्रवाहको कार्यक्रम ल्याउँछ, ल्याइरहेको छ । तर, त्यही स्थितिमा समानान्तर सत्ताको शैलीबाट कर संकलन गर्ने अवस्थालाई यो सरकारले कसरी संबोधन गर्ला ? अनि, राज्यलाई कर नतिर्ने वा कर छल्ने, तर सशस्त्र समूहलाई भने खुतुखुतु पैसा दिने व्यवसायीमाथि कस्तो दृष्टिकोण राख्ला ? जनयुद्धताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्ता चन्दादातालाई आतंककारीका मतियार हुन् भन्थे ।
अहिले नेकपा विप्लव समूहले त्यस्तै चन्दाको धन्दालाई तीव्रता दिएको छ । उसले चलाएको चन्दा असुलीको फेहरिस्त लामो छ । सो पार्टीका प्रवक्ता तथा आर्थिक विभाग प्रमुख प्रकाण्ड (खड्गबहादुर विक) पक्राउ परेपछि प्रहरीद्वारा बरामद डायरीमा देखियो, चन्दा संकलनका लागि कसको जिम्मा कहाँ–कहाँ रहेछ ?
यसरी विप्लवलाई हालसम्म चन्दा दिनेमा राजेश खड्काको जेम्स स्कुलले २० लाखमा डिल भएकोमा १५ दिइसकेको रहेछ । अब पाँच लाख दिन बाँकी देखियो । पूर्वसभासद् गीता राना क्षेत्रीको ग्यालेक्सी स्कुलसँग पनि २० मै डिल भएकोमध्ये १५ लाख दिइसकिएको र बाँकी पाँच लाख दिन बाँकी छ । टीएल चौधरीको नाइटिङ्गेल स्कुलले पाँचमा पाँचै लाख दिइसकेको रहेछ । हेलि एभरेष्टले १० को डिल भएमध्ये तीन लाख दिइसकेको र सात लाख दिन बाँकी देखिन्छ ।
पूर्वसभासद्समेत रहेका उमेश श्रेष्ठको लिट्टिल एञ्जल्सले २० लाख दिने बचन दिएर पाँच लाख बुझाई १५ लाखका लागि अहिलेसम्म झुलाइरहेको पाइयो । । औषधी माफिया भनेर चिनिने विशाल पण्डितले पाँच लाख दिने भनेकोमा चार लाख बाँकी राखेर एक लाखमा टारेको हिसाबसमेत त्यसैमा छ । पोहोर मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनले १० लाखको बचन दिएका रहेछन् । कांग्रेस नेता तथा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जिपछिरिङ लामाले १० मा १० लाखै दिइसकेका रहेछन् ।
प्रकाण्डको डायरीमा ‘दीपकबाट आएको’ भनी १५ लाख जनाइएको छ । ती ‘दीपक’ को हुन् ? मल्होत्रा, भट्ट, मनाङे भन्नेचाहिँ खुलेको छैन । शर्मा एण्ड कम्पनीका रमेश शर्माले १० लाख, चन्द्र ढकालको ग्लोबल आइएमई बैंकले १० लाख दिइसकेको रहेछ । अरु त अरु, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रबद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले पनि विप्लवलाई १० लाख दिइसकेको डायरीमा छ । कर्मचारी सञ्चयकोषको ऋणबाट रसुवामा एक सय ११ मेगावाट विद्युत उत्पादनका लागि उक्त कम्पनी सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १९:२५