७३ करोडको जग्गा हडप्ने खेल: पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१७ कात्तिक, काठमाडौं । फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुट पाएको सरकारी/सार्वजनिक सम्पत्ति कानुन विपरीत बिक्री र सट्टापट्टा गरी राज्यलाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ हानि-नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्र प्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
विराटनगर उपमहानगरपालिका वडा नं. ३ स्थित बहुमूल्य जग्गालाई खोला र खाल्डो रहेको कौडीको भाउको जग्गासँग सट्टापट्टा गरी निजी क्षेत्रलाई पोस्न राज्यका माथिल्ला निकायदेखि स्थानीय तहका पदाधिकारीसम्म संलग्न रहेको विस्तृत अनुसन्धानबाट खुलेको छ।
पञ्चायतकालदेखि सुरु भएको सर्त उल्लङ्घन र जग्गा कब्जाको पृष्ठभूमि
यस प्रकरणको जरा २०२२ सालसम्म पुग्छ। २०२२ माघ ५ गते तत्कालीन पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालसमेत संस्थापक भई रिजाल क्यानिङ्ग एण्ड कम्पनी प्रा.लि. दर्ता भएको थियो। नगेन्द्रप्रसाद रिजाल स्वयं प्रधानमन्त्री भएको समयमा २०३२ जेठ १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त कम्पनीलाई फलफूल उद्योगको काममा रहेसम्म सुनसरी र मोरङमा ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा राख्न पाउने गरी हदबन्दी छुट दिइएको थियो।
कम्पनीले तोकिएको सर्त विपरीत २०४१ साउन ४ मा १० बिघा १७ कट्ठा १० धुर जग्गा **रिजाल टाशी इण्डष्ट्रिज प्रा.लि.**का नाममा छोडपत्र गरिदियो। हदबन्दी उच्चस्तरीय छानबिन समितिले सर्त अनुसार जग्गा प्रयोग नभएको पाएपछि सरकारले २०४८ चैत २३ गते ५५ बिघाभन्दा बढी जग्गा जफत गर्ने निर्णय गर्दै २०४९ वैशाख १६ मा मालपोत कार्यालय मोरङमार्फत रोक्का राखेको थियो।
२०५४ जेठ २७ गते सर्वोच्च अदालतले कार्यक्षेत्र र प्रक्रियागत त्रुटि देखाउँदै जफत निर्णय बदर गरे पनि “तोकिएको सर्त अनुसार काम नगरेको अवस्थामा त्यस्तो छुट सुविधा सरकारले फिर्ता लिन सक्ने” स्पष्ट कानुनी व्याख्या गरिदिएको थियो।

बेवारिसे जग्गा, डम्पिङ साइट र किर्ते सिफारिसको तानाबाना
सर्वोच्चको फैसलापछि उक्त जग्गा भूमि सम्बन्धी ऐन बमोजिम पुनः जफतको प्रक्रियामा लैजानुपर्नेमा भूमिसुधार अधिकारी उमानाथ पाण्डेले अदालतको फैसलाको गलत व्याख्या गर्दै २०६३ भदौ १२ गते रोक्का जग्गा गैरकानुनी रूपमा फुकुवा गरिदिएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङले सो जग्गा प्रयोग नभई बेवारिसे रहेको र प्रहरी परिसरका लागि उपलब्ध गराउन पटक-पटक पत्राचार गरे पनि त्यसलाई बेवास्ता गरियो। मालपोत र भूमिसुधारकै प्रतिवेदन अनुसार विराटनगरको सो जग्गामा घेराबारा थिएन, झाडी र डम्पिङ साइट बनेको थियो तथा लागुऔषध दुर्व्यसनीको अखडा बनेको थियो।
जग्गा कब्जा गर्ने नियतले कम्पनी सञ्चालकहरूले २०६६ असार २५ मा जग्गा बिक्री र सट्टापट्टाको अख्तियारनामा दिएका थिए। त्यसपछि स्थानीय वडा कार्यालय, बनिगामा गाभिस, जिल्ला कृषि विकास कार्यालय, माटो परीक्षण प्रयोगशालाका साथै स्थानीय तीनवटा विद्यालयहरू (शंकरपुर प्राथमिक विद्यालय, बुढानिलकन्ह माध्यमिक विद्यालय, र जनता नमुना उच्च माध्यमिक विद्यालय) बाट समेत झुटो र बनावटी सिफारिस पेस गराइयो।
सिंहदरबारमा नीतिगत निर्णय र स्वार्थको द्वन्द्व
स्थानीय तह र मन्त्रालय तहका कर्मचारीहरूको मिलोमतोमा फाइल माथि पुगेपछि सिंहदरबारका शीर्ष नेतृत्वले कानुन र नियमको धज्जी उडाउँदै निर्णय प्रक्रिया अगाडि बढाएका थिए। हदबन्दी छुटको जग्गा सर्त विपरीत प्रयोग नभएको र जफत हुनुपर्ने तथ्य स्पष्ट हुँदाहुँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६६ कार्तिक १५ मा बनिगामाको जग्गासँग विराटनगरको जग्गा सट्टापट्टा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्यो।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरी मन्त्रिपरिषद्, सामाजिक समितिमा छलफल गरी समितिकै निर्णय बमोजिम हुने गरी पठाउने निर्णय गराउनुभएको थियो।
मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक तत्कालीन मन्त्री डा. मिनेन्द्र प्रसाद रिजाल थिए। कम्पनी सञ्चालकहरू आफ्नै नातेदार/आफन्त पर्ने हुँदा स्वार्थको द्वन्द्व हुने जान्दाजान्दै उनले २०६६ पुस १६ मा जग्गा सट्टापट्टाको स्वीकृति दिए। यति मात्र होइन, सोही निर्णयमार्फत ‘उद्योग प्रतिष्ठानहरूलाई अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिनेसम्बन्धी कार्यनीति, २०६२’ लाई नै निलम्बन गरी गैरकानुनी बाटो खोलिएको थियो।
खोलाको जग्गासँग अर्बौँको सम्पत्ति साटेर लाभ
मन्त्रिपरिषद् सामाजिक समितिको निर्णयलगत्तै कम्पनीले योजनाबद्ध रूपमा जग्गा किनबेच गर्यो। कम्पनीले २०६६ माघ २० मा मोरङको साविक बनिगामा गाभिसमा रहेको ४ बिघा ५ कट्ठा ९ धुर जग्गा रु. १२ लाख ८५ हजार मा खरिद गर्यो। ग्रामथान गाउँपालिकाको प्रतिवेदन अनुसार सो जग्गामा खाल्डो, कच्ची बाटो र चलनचल्तीको खोला बगिरहेको छ, जहाँ कहिल्यै कुनै खेती वा भोगचलन भएको थिएन।
त्यसको ६ दिनपछि नै कम्पनीले विराटनगरको बहुमूल्य ४ बिघा ५ कट्ठा ९ धुर १ कान जग्गा रु. ८ करोड ३८ लाख ६२ हजार ५ सय मा निजी व्यक्तिहरूलाई बिक्री गर्यो। हालको सरकारी न्यूनतम मूल्याङ्कन अनुसार उक्त जग्गाको मूल्य ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ कायम गरी अख्तियारले सोही बराबरको बिगो असुल उपर गर्न मागदाबी गरेको छ।
अभियोगको घेरामा परेका मुख्य पदाधिकारीहरू
अख्तियारले दर्ता गरेको आरोपपत्रमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र सामाजिक समितिका संयोजक डा. मिनेन्द्र प्रसाद रिजाललाई मुख्य अभियुक्त मान्दै ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो, कैद र जरिवानाको माग गरिएको छ।
यसैगरी, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि के.सी. तथा उद्योग, कृषि, कानुन र अर्थ मन्त्रालयका तत्कालीन उपसचिव तथा शाखा अधिकृतहरूविरुद्ध पनि सोही बराबरको बिगो र कैद सजायको माग गरिएको छ।

भूमिसुधार विभागका तत्कालीन महानिर्देशक राजेन्द्र प्रसाद लौडारी, भूमिसुधार कार्यालय मोरङका प्रमुख उमानाथ पाण्डे, मालपोत अधिकृत परशुराम अधिकारी तथा झुटो सिफारिस दिने प्रधानाध्यापकहरू (शंकर पोखरेल, दुर्गा प्रसाद पोख्रेल, मोहन आचार्य) लाई मतियारको कसुरमा मुख्य कसुरदार सरह नै सजाय माग गरिएको छ।
रिजाल क्यानिङ्ग एण्ड कम्पनी प्रा.लि. र त्यसका सञ्चालकहरू (कुलचन्द्र, राजेन्द्र, जनक, देवेन्द्र, बद्री, पशुपति प्रसाद रिजाल) लाई समेत बिगो र कैद सजायको दाबी गरिएको छ । मृत्यु भइसकेका ८ जना पदाधिकारीका हकदारबाट बिगो असुल गर्न र हाल जग्गा कायम रहेका ४३ जना व्यक्ति तथा संस्थाको जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
प्रकाशित मिति : November 3, 2026 at 1:51 pm













