१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

२० चैत, काठमाडौं । गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे ।

प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले काठमाडौं सुकेधाराका प्रताप घिसिङलाई हराउँदै स्वर्ण जिते ।

नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको महिला प्रोफेसनलको ६० केजीमा नेपाल एपीएफ क्लबकी विद्या गुरुङले बनेपाकी चन्दा भुजेललाई पाखा लगाउँदै पहिलो भइन् ।

फर्पिङमा भएको प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ति बतास पहिलो बने । फाइनलमा सुरक्षाले काठमाडौं सुकेधाराकी सन्जाली घिसिङ तथा प्राप्तिले स्ट्रोङगेस्टकी सुष्मा चौधरीलाई पाखा लगाए ।

सेमी प्रो फाइटको पुरुष ५०–५३ केजीमा नेपाल आर्मीका कृष्ण पुन मगरले काठमाडौं सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई पन्छ्याउँदै पहिलो भए ।

एमेच्योरतर्फ पुरुष ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० केजीमा वज्रवराही क्लबका सुजन स्याङतानले काठमाडौं सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाल तथा ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले काठमाडौं सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई फाइनलमा निराश पार्दै स्वर्ण जिते ।

विजेतालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, आयोजक नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगिताको पुरुषमा १० र महिलामा ३ गरी १३ स्पर्धामा ४६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : April 3, 2022 at 6:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/