२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

भरतपुर मेयर कप क्रिकेट : मकवानपुरसँग नवलपुर पराजित


१५ चैत, चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर विजयी भएको छ । रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मकवानपुरले दिएको २२४ रनको लक्ष्य पछ्याएको नवलपुर ३०.२ ओभरमा १०७ रनमै अलआउट भएपछि मकवानपुरले फराकिलो जित हात पारेको हो ।

नवलपुरका लागि किशोर महतोले ४३ बलमा ३८ रन बनाए । कमल परियारले २३ बलमा २१ रन बनाए भने दीपक डुम्रेले १२ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो अंक जोड्न सकेनन् । मकवानपुरका लागि रामनरेश गिरी, समिर चौलागाईं र विपुल खनालले समान २/२ विकेट लिए भने रिजन ढकाल र असिम श्रेष्ठले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.५ ओभरमा २२३ रन बनाउँदै अलआउट भयो । मकवानपुरका लागि सुव कंशकारले ३३ बलमा ५७ रन बनाए भने रिजन ढकालले ७१ बलमा ५६ रन बनाए । ओपनर गौरव खड्काले ३८ रन बनाए । मकवानपुरका लागि गौरव र सुवले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए ।

यस्तै नवलपुरका लागि कमल परियारले १० ओभरमा ३० रन खर्चिंदै महत्वपूर्ण चार विकेट लिए भने अप्रजित पौडेलले १० ओभरमा ३२ रन खर्चिएर चार विकेट लिन सफल भए । विशाल पौडेल र रिजन काफ्ले समान एक/एक विकेट लिए । खेलमा मकवानपुरका रिजन ढकाल प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिमा उत्कृष्ट सुरुवात गर्दै मकवानपुर लिगको पहिलो स्थानमा रहेको छ भने एक जित र एक हारसहित नवलपुर दोस्रो, पहिलो खेलमा नवलपुरसँग पराजित चितवन तेस्रो तथा अन्तिम स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत बुधबार चितवन र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । चितवनले मकवानपुरलाई फराकिलो अन्तरले पराजित गर्न सके मात्र फाइनलमा स्थान बनाउनेछ । हार व्यहोरेमा मकवानपुर र नवलपुर उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १८:०४