२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

साउथ अष्ट्रेलियका नेपाली व्यवसायिक संस्थाहरूको क्रिकेटमा माभेन र ग्लोबल विजयी


१५ चैत, एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसिसन(एन्का) को आयोजना र एनआरएनए साउथ अष्ट्रेलियाको सहयोगमा साउथ अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी संस्थाहरुको क्रिकेट प्रतियोगिता `एन्का सिक्स ए साइड टुनामेन्ट´ मा माभेन कन्सल्टिङ ग्रुप एडिलेड र ग्लोबल इन्टरनेशनल एडिलेड विजयी भएका छन् ।

प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको र समुह भित्र प्रत्येक टिमले दुई खेल खेलेका थिए । जसमा समुहमा प्रथम हुने चार टिम कप च्याम्पियनसिपका लागि र दोस्रा हुने चार टिम प्लेट च्याम्पियनसिपका लागि छनौट भएका थिए । कप च्याम्पियनसिप र प्लेट च्याम्पियनसिप गरि दुईबटा फाइनल खेलहरु भएका थिए ।

कप च्याम्पियनसिपका लागिभएको फाईनल खेलमा माभेन कन्सल्टिङ ग्रुप एडिलेडले भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन माथि बिजय हासिल गरेको थियो | यसै गरि प्लेट च्याम्पियनसिपका लागि भएको फाइनल खेलमा गोल्बल
इन्टरनेशनल एडिलेडले एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड माथी विजय हासिल गरेको थियो ।

कप च्याम्पियनसिपको विजयी माभेन कन्सल्टिङ ग्रुपका कप्तान सुनम गौतमलाई पुरस्कार दिदै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष रेनुका लामा र एन्का अध्यक्ष विजय जोशी ।

महिलाहरुको खेलमा एनआरएनएको महिला टिमले एन्का सनसाइन माथि विजय हासिल गरेको थियो भने बालबालिकाहरुको खेलमा एन्का जेम्स रातोले एन्का जेम्स निलो माथी विजय हासिल गरेको थियो । प्रतियोगितामा सहभागी टिमहरुमा नमस्ते सुपरमार्केट, एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड, भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन, मल्टिडाइनामिक एसए, ग्रेस इन्टरनेशनल एडिलेड, ई-प्लानेट एडिलेड, गोल्बल इन्टरनेशनल, कुवर फाइनान्स, माभेन कन्सल्टिङ ग्रुप एडिलेड, सेज प्यासिफिक, एएमए प्रोफेसनल सर्भिसेज, नेपकम्स सर्भिसेज एडिलेड रहेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले प्रतियोगिता प्रतिस्पर्धा संगै मनोरञ्जनका लागि पनि भएकाले खेलाडी अफिसियल व्यवस्थापक दर्शक सबैमा धन्यवाद ज्ञापन गरेका थिए । यसै गरि एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले नेपाली समुदाय पनि क्रमस व्यापार व्यवसाय तर्फ पनि आकर्षित हुदै गएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्रमा व्यवसायी संस्थाहरुको सहभागी र लगानीका लागि आभार व्यक्त गरिन ।

कप च्याम्पियनसिपको विजयी माभेन कन्सल्टिङ ग्रुपलाई एक हजार अष्ट्रेलियन डलर सहित कप, गोल्ड मेडल रहेको र उपविजेता भिएक्सएल एजुकेशन एण्ड माइग्रेसनलाई पाँच सय अष्ट्रेलियन डलर, कप तथा सिल्भर मेडल प्रदान गरिएको छ । भने प्लेट च्याम्पियनसिपका लागि हुने प्रतिस्पर्धामा विजयी ग्लोबल इन्टरनेशनललाई गोल्ड मेडल र प्लेट तथा उप विजेता एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेडलाई सिल्भर मेडल र प्लेट प्रदान गरिएको छ ।

प्लेट च्याम्पियनसिपको विजयी ग्लोवल इन्टरनेशनल एडिलेडका कप्तान विपिन सुवेदीलाइ पुरस्कार हस्तान्तरण गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष रेनुका लामा र एन्का अध्यक्ष विजय जोशी ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०९:३७