२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

रुपन्देही सुपरलिग : हारसँगै वेस्टर्न बाहिरियो, लुम्बिनी खुकुरी ७४ रनले विजयी


९ चैत, भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएकाे छ । सुपर फोर अन्तर्गतको खेलमा वेस्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लब वजयी भएकाे हाे ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलब ५ ओभरमा २ सय ६ रन बनाएको थियो । सबै विकेट गुमाएको टिमका लागि लालबहादुर अधिकारीले ४८, निश्चल चौधरीले २९ र शंकर रानाले २६ रन बनाए । बलिङतर्फ नरेन साउदले चार, अनिल खरेल र सौरभ खनालले ३–३ विकेट लिए ।

दुई सय सात रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको वेस्टर्नले ३३ ओभरमै सबै विकेट गुमाएकाे थियाे । लक्ष्यमा पुग्न नसकेको टिमले १३२ रन मात्र जोड्न सकेकोले ७४ रनान्तरकाे हार स्वीकार्यो । जस लागि विक्रम भुसालले ५२, प्रतिस जिसीले ३३ र सौरभ खनालले १५ रन जोडे । हारको सामना गरेको वेस्टर्न लिगबाटै बाहिरिएको छ । बलिङतर्फ अजयकुमार चौहानले चार, लालबहादुर अधिकारीले दुई विकेट लिए ।

बुधबारको खेलमा लुम्बिनीका लालबहादुर अधिकारी म्यान अफ द म्याचबाट पुरस्कृत भएको संघका सचिव संजय गुरुङले जानकारी दिए । सुपर फोरमा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन् । १२ चैतमा हुने फाइनल प्रतियोगितका लागि यस वर्षदेखि सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेल्दै छन् । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

बिहीबार अन्तिम सुपर फोरको खेल लुम्बिनी खुकुरी क्लब र बुद्ध क्रिकेट क्लबबीच हुने संघका सचिव गुरुङले जानकारी दिए । नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हुँदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १६:५९