२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

जारी राजर्षि जनक कपमा एपीएफ क्लब क्यामरुनसँग ट्राइब्रेकरमा पराजित


-एसवी थापा

५ चैत, सर्लाही । सशस्त्र प्रहरीको फुटबल क्लब एपीएफलाई ट्राइब्रेकरमा पराजित गर्दै पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन अन्तिम चारमा प्रवेश गरेको छ । जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाहुना टोली क्यामरुनले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफ क्लब र अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । खेलको ३७ औ मिनेटमा क्यामरुनका कप्तान रोनीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्स भित्र दिएको पासलाई सशक्त प्रहार गर्दै रोनीले गोलमा परिणत गरे ।

यस्तै खेलको ८१ औ मिनेटमा एपीएफका सविन गुरुङले क्यामरुनका गोलकिपरलाई बिट गर्दै बराबरी गोल फर्काए । जर्सी नम्बर २ का विश्वास उदासको क्रसपासमा गुरुङले गोल गरेका हुन् । गुरुङको गोलसँगै एपीएफ खेलमा फर्कियो । तर त्यसपछि दुई टोलीले खेलमा थप गोल गर्न सकेनन् । दुवै टिमका खेलाडीबीच गोल थप्न निकै घम्साघम्सी भएको थियो ।

एपीएफका खेलाडीका लागि खेलको सुरुको केही मिनेट र अन्तिम ५ मिनेट राम्रो अवसर बन्यो तर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । एभिनियर फुटबल क्लब क्यामरुनका दुई खेलाडी इटोका र जोस्पीन ८८ र ८९ औँ मिनेटमा लगातार दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिए । त्यस पछि क्यामरुन ९ खेलाडीमा सीमित भए । क्यामरुन ९ खेलाडीको अवस्थामा रहेको ५ मिनेट पनि एपीएफले सदुपयोग गर्न सकेन ।

खेलको पहिलो मिनेटमै एपीएफका युवाराज खड्का क्यामरुनका गोलकिपर एलिन सँग वान टु वानको अवस्थामा पुगे । खेलको १२ औँ मिनेटमा एफिएफका टोप विष्टको पासमा युवराज खड्काले गरेको हेड फस्ट बार नजिकैबाट बाहिरियो । शनिवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलको म्यान अफ द म्याच घोषित हुँदै क्यामरुनका गोल किप्पर रोड्रिग्वे नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै आइतबार हुने पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डर च्याम्पियन पिप्ले युवा क्लब हेटौडा र हिमालयन सेर्पा खेल्ने छन् । हिमालयन सेर्पा धु्रवतारा फुटबल क्लब झापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने, डिफेन्डर च्याम्पियन पिप्लेले एक खेल वाई पाएको थियो । चैत १३ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् । /न्युज कारखाना

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार २२:१७