२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

आईपीएलः विराट कोहलीको अधुरो सपना पूरा गर्न सक्छन् यी तीन खेलाडी


२५ फागुन, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमा निकै चर्चित छन् । उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ । तर उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्च बेंगलोर (आरसीबी) लाई एउटै उपाधि जिताउन सकेका छैनन् । अब, उनको यो अधुरो सपना पूरा गर्न आरसीबीले टिममा यस्ता तीन खेलाडीलाई खरिद गरेको छ । जसले आरसीबीलाई पहिलो आईपीएल ट्रफी दिलाउन सक्छन् । जान्नुहोस् तीन खेलाडीबारे ।

फाफ डुप्लेसिस

आरसीबीले गत महिना आईपीएलको मेगा अक्सनबाट दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा आक्रमक ओपनर फाफ डुप्लेसिसलाई टोलीमा सामेल गरेको छ । डुप्लेसिस जब आफ्नो लयमा रहन्छन्, तब आक्रामक रूपमा कुनै पनि बलरविरुद्ध खेल्ने गर्छन् । यसअघि उनले चेन्नई सुपर किङ्स (सीएसके) का लागि खेल्ने गर्थे । उनले आफ्नो क्षमता प्रदर्शन गर्दै सीएसकेलाई उपाधिसमेत दिलाएका थिए ।

डुप्लेसिसले आफ्नो ब्याटिङ प्रतिभा सबैलाई देखाएका थिए । उनको खतरानाक ब्याटिङ देखेर विपक्षी टिमसमेत चकित बनेका थिए । उनले आईपीएल-२०२१ को १४ खेलमा ६३४ रन बनाएका थिए । यसैले नै यसपटकको आईपीएल-२०२२ मा फाफ डुप्लेसिसको ब्याटिङ आक्रामक रूपमा चल्ने निश्चित छ । उनी नै आरसीबीको कप्तान बन्नमा सबैभन्दा बढी दाबेदारसमेत छन् ।

हर्षल पटेल

पछिल्लो सिजन आरसीबीले प्लेअफसम्मको यात्रा तय गरेको थिया । तर आरसीबी कोलकाता नाइट राइडर्स (केकेआर) हार्न पुगेको थियो । प्लेअफसम्म पुर्‍याउन हर्षल पटेलले महत्वपूर्ण भूमिका खेलेका थिए । आईपीएलको मेगा अक्सनमा पुनः हर्षल आरसीबीमै खरिद भएका छन् । हर्षललाई १० करोड ७५ लाख भारुमा आरसीबीले फिर्ता ल्याएको हो ।

पछिल्लो वर्षमा हर्षलको बल खेल्न कुनै पनि ब्याटरलाई सहज हुने गरेको छैन । सुस्त गतिमा विकेत लिने कला चर्चितसमेत छ । उनले आईपीएल-२०२१ को १५ खेलमा ३२ विकेट लिएका थिए । यस्तो अवस्थामा हर्षल पटेलले यसपटक आरसीबीलाई उपाधि दिलाउन सक्छन् ।

वानिन्दु हसरंगा

आरसीबीले आफ्नो टिममा श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगालाई स्थान दिएको छ । हसरंगा आफ्नो घातक बलिङका कारण चर्चित छन् । उनी ब्याटरलाई आफ्नो स्पिनको जालमा फसाउन माहिर छन् । २४ वर्षीय स्पिनर कुनै पनि टोलीका लागि खतरा सावित हुन सक्छन् । उनलाई आरसीबीले १० करोड ७५ लाख भारुमा खरिद गरेको हो ।

हसरंगाले टी-२० विश्वकपमा ह्याट्रिक लिएर आफ्नो बलिङ क्षमता देखाएका छन् । खेलबाट नै उनले आफ्नो नाम विश्वमा कमाएका छन् । भारतीय पिच सधैं स्पिनरलाई मद्दत गर्ने गर्छ । यसैको फाइदा वानिन्दु हसरंगाले आईपीएलमा लिन सक्छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १३:३६