५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भुवन नगरकोटी सूर्य नेपाल एनपीजीएको क्वार्टर फाइनल प्रवेश


२४ फागुन, काठमाडाैँ । सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा मङ्गलवार भएको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिए म्याच प्लेमा नेपालको नम्बर वान प्रो भुवन नगरकोटी क्वार्टर फाइनल प्रवेश गरेका छन्।

वरियताको शीर्ष स्थानमा रहेका भुवनले अठारौँ स्थानमा रहेका सचिन भट्टराईलाई पहिलो राउन्डमा ६/४ को स्कोरले हराए। चार होल्स बाँकी रहँदै ६ अप रहेका भुवन दिन भरी भएको खेलहरूमा सबैभन्दा भारी स्कोरले विजयी बन्ने खेलाडी बने। अब अर्को खेलमा भुवनले वरियताको नवौँ स्थानमा रहेका दिनेश प्रजापतिसँग सामना गर्ने छन्। दिनेश आफ्नो अर्को खेलमा दसौँ स्थानमा रहेका सूर्य प्रसाद शर्मालाई ३/२ ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेका हुन्।

यो प्रतियोगितामा सूर्य नेपाल गल्फ टुरको २०१८-१९ अन्तर्गत शीर्ष १६ स्थानमा रहेका व्यावसायिक खेलाडीहरू मेरिटका आधारमा छनौट हुने प्रावधान रहे पनि दोस्रो स्थानमा रहेका शिवराम श्रेष्ठ र चौधौँ स्थानमा रहेका दिपक आचार्य सहभागी नहुने भएपछि सत्रौँ स्थानमा रहेका शिव कुमार माझी र अठारौँ स्थानका सचिन भट्टराईले अवसर पाएका थिए।

वरियताको तेस्रो स्थानमा रहेका विकाश अधिकारी, चोथौँमा रहेका सञ्जय लामा, पाचौँमा रहेका धन बहादुर थापा, छैटौँमा रहेका रामे मगर, सातौँमा रहेका जयराम श्रेष्ठ र दशौँ स्थानमा रहेका दिपक मगर प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

तेस्रो स्थानका विकाश अधिकारीले शिव कुमार माझीलाई र चोथौँ स्थानका सञ्जय लामाले पन्ध्रौँ स्थानमा रहेका राम कृष्ण श्रेष्ठलाई ५/४ को बराबरी स्कोरले हराए। त्यस्तै पाचौँ स्थानमा रहेका धन बहादुर थापाले तेह्रौँ स्थानमा रहेका बल भद्र राई र छैटौँ स्थानका रामे मगरले भुवन कुमार रोक्कालाई अन्तिम होलमा पराजित गरे।

यो सिजनको पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौँ ओपनका विजेता जयराम श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै वरियताको बाह्र नम्बरमा रहेका कृष्ण मान राजवाहकलाई ५/४ ले हराए भने रेगुलेसन समयको १८ होलमै बराबरीको अवस्थामा रहेको खेलमा दिपक मगरले वरियताको आठौँ स्थानका रवि खड्का सेकेन्ड एक्स्ट्रा होलमा पराजित गरे।

प्रतियोगिता अन्तर्गतको चार क्वार्टर फाइनल र दुई सेमी फाइनल खेल बुधवार हुनेछ भने तेस्रो स्थानको खेल र फाइनल खेल बिहिवार हुनेछ। खेलका अन्य सबै म्याच १८ होलमा हुनेछ भने फाइनल ३६ होलमा खेलाइने छ।

नेपाल प्रोफेसनल गल्फ एसोसियसनले आयोजना गरेको यो प्रतियोगितामा सूर्य नेपाल प्रा. लि. प्रायोजक रहेको छ । यो प्रतियोगितामा विजेताले रु. दुई लाख नगद पाउनेछन् भने शीर्ष चारमा रहेकाले क्रमशः रु. पचास हजार, तिस हजार, बाइस हजार र अठार हजार जित्नेछन्। क्वार्टर फाइनलमा पराजित हुने प्रत्येकले रु. दस हजार र पहिलो राउन्डबाटै बाहिरिएका व्यवसायी खेलाडीहरूले पनि प्रोत्साहन स्वरूप रु. पाँच हजार पाउनेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार ०५:०४