३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

रुपन्देही सुपरलिग क्रिकेट : प्रोफेसनल मास्टर्स ११ विजयी


१० फागुन, भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल प्रोफेसनल मास्टर्स ११ ले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबलाई १३ रनले पराजित गरेको हो ।

सुरुवाती ब्याटिङ पाएकोे प्रोफेसनलले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो । जसका लागि प्रवेश थापाले सर्वाधिक २६, अनिल चाईले १५, अजय रसाइली र माधवेन्द्र क्षेत्रीले १०-१० रन बनाए । बलिङतर्फ सैनामैनाका गणेश गौतमले चार, विशाल भुसाल र उदय पन्तले दुई-दुई विकेट लिए ।

९४ रनको लक्ष्य पाएको सैनामैनाले २५ दशमलव १ ओभरमा सबै विकेट गुमाई ८० रन मात्रै जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि १३ रनले हार व्यहोरेको सैनामैनाका लागि सुनिल पौडेलले १६, प्रदीप सुवेदी र विक्रम गौतमले १३-१३ रन बनाए । प्रोफेसनलका दिनेश अग्रवालले चार, समोत पौडेल र अर्जुन करोसले दुई-दुई विकेट लिए ।

मंगलबारको खेलमा दिनेश अग्रवाल म्यान अफ दि म्याच भए । बुधबारको खेल लुम्बिनी शाक्यान र बुटवल युथका बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

२०५४ देखि निरन्तर हँुदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्लाभित्रका ‘ए’ डिभिजनका आठ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एकदिवसीय ५०-५० ओभर फम्र्याटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १५:३५