३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

विकास र सम्बृद्धिका लागि खेल आवश्यक ः एमाले उपाध्यक्ष पौडेल


८ फागुन, काठडमाैँ । मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले ध्रुव आचार्यको अध्यक्षतामा २ सय २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । आचार्य यसअघि उपाध्यक्ष थिए । समितिको ८ सदस्यीय उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ, तेज विक्रम बस्नेत, तुल्सी मैनाली, शशीकुमार बर्मा र देवबहादुर कुंवर चयन भएका छन् । महासचिव पुरेन्द्र विक्रम लाखें एवं उपमहासचिवमा मदन उप्रेती र सुवर्णा श्रेष्ठ छनोट भएका छन् ।

सचिवमा मिलन राना, देवी वाग्ले, चन्द्र वन्दना राई, डा. शक्ति बस्नेत, सुजु मल्ल, मन्दिरा वस्नेत, अन्जना शिवाकोटी, सन्जु महर्जन र ऋषिकेश श्रेष्ठ चयन भएका छन् । निर्वाचनकालागि एकेडेमीका सस्थापक अध्यक्ष रमश सिलवालको अध्यक्षतामा दीपक ज्ञवाली र बलबहादुर आचार्य सदस्य रहेको अध्यक्ष मण्डल गठन भएको थियो ।

महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा एकेडेमीका संरक्षक केपी शर्माओलीले उद्घाटन गर्ने कार्यक्रम थियो । एमसीसी विरुद्ध उत्रेकाको अवरोधका कारण उनी कार्यक्रममा आएनन् । सट्टामा पूर्व युवा तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

महाधिवेशनको उद्घाटन गर्दै उनले व्यक्तिको अनुशाशनसंगै राष्ट्रको विकास र संवृद्धिकालागि खेल आवश्यक रहेको बताए । अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको भन्दै उनले त्यसको परिपूर्ति मदन भण्डारी एकेडेमीले गर्न सक्ने जनाए । ७ वटै प्रदेशमा स्पोर्टस एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले महत्वपूर्ण भूमिका खेलेपनि स्थायी सरकार नहुदा त्यसलाई संस्थागत गर्न नसकिएको उनले बताए ।

नव निर्वाचित अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुदै ७ सय ५३ वटै स्थानीय तहमा कमिटी गठन गर्ने योजना बनाएको बताए । पालिकास्तरदेखि नया“खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षीत गरेर सबल बनाउने र सबललाई व्यवसायिक बनाउन भूमिका खेल्ने उनले जनाए । एकेडेमीले आउदो खेलकुद दिवसको अवसरमा बृहत राष्ट्रिय खेलकुद कार्यक्रम गर्ने समेत उनले सुनाए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालले खेलकुदलाई खेलाडीमात्रका लागि नभइ आम नागरिकको स्वास्थ्य , मनोरन्जन र विकाससंग जोड्न आग्रह गरे । सबैकालागि खेल आवश्यक रहेको बताउदै उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर खेलकुदको विकासमा युवा जोस र जा“गर लगाउनुपर्ने बताए ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले खेलकुदको विकाससंगै जनताको बहुदलिय जनवादलाई नागरिकमाझ पुर्याउन स्पोर्टस एकेडेमीले ठूलो भूमिका खेलेको बताइन् । उनले कोरोना संक्रमणका कारण सुस्ताएका खेल गतिविधि पुन अगाडि बढाउन एकेडेमीलाई थप सक्रिय हुन आग्रह गरिन् ।

मदन भण्डारी वौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले स्पोर्टस एकेडेमीले खेलगतिविधिसंगै र जनताको बहुदलिय जनवादलाई फैलाउन काम गर्नुपर्ने बताए । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले युवा जोस र जागरलाई खेलकुदमा लगाउन सके अनुशाशित युवा उत्पादन हुने र देशमा संवृद्धि हुने बताए ।

उपाध्यक्ष पौडेलसहित बिभिन्न ब्यक्ति सम्मानित
एकेडेमीले खेलकुदको संरक्षण र विकासमा भूमिका खेलेको भन्दै विभिन्न खेलाडी तथा खेल संरक्षकहरुलाई सम्मान गरेको छ ।
खेलकुदको विकास र संरक्षणमा सहयोग गरेको भन्दै पूर्ब युवा तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवाल र निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, संस्थापक महासचिब तथा कराते खेलाडी पुरेन्द्र विक्रम लाखे,अर्का खेलाडी तथा प्रशिक्षक राजन पाइजा लगायतलाई सो अवसरमा एकेडेमीले सम्मान गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार २१:५८