३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कुशलको शतक, नेपाल बलियो स्थितिमा


७ फागुन, काठमाडौं । युवा क्रिकेटर कुशल भुर्तेलले टी–२० क्रिकेटमा करियरको पहिलो शतक बनाएका छन् । कुशलले आइसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध शतक हिर्काएका हुन् । नेपालको ओपनरका रुपमा आएका कुशलले ३२ बलमा अर्धशतक बनाएका थिए भने ५७ बलमा शतक बनाए । जमसा उनले १३ चौका र एक छक्का प्रहार गरे ।

कुशल टी–२० आईमा नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी बनेका छन । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । पारसले सिंगापुरविरुद्ध २०१९ मा १०६ रनको पारी खेलेका थिए भने मल्लले २०१९ मा कीर्तिपुरमा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए । नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ । प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १४:००