३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

साउथ अष्ट्रेलियाको क्रिकेटमा नेपाली टिमको ऐतिहासिक सफलता, आइतबार अर्को इतिहास रच्ने अपेक्षा


६ फागुन, एडिलेड । साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) को आयोजनामा एडिलेडमा जारी साम्का मेट्रोपोलिटन २०-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एन्का)को टिम फाइनल चरणमा प्रवेश गरेको छ । नेपाली टिमले पस्तुन अल नेशन टिमलाई हराउदै फाइनलमा स्थान पक्का गरेको हो । अब नेपाली टिमले आगामी फ्रेब्रुअरी २० आइतबार ग्लेनेल ओवलमा हुने फाइनल खेलमा पाराहिल्स एसोसियसनसँग खेल्ने छ ।

नेप्लिज क्रिकेट एसोसियसन (एन्का)का टिम कप्तान सुनम गौतम ।

विगत पाँच वर्षदेखि नेपाली टिम यस च्याम्पियनसिपमा सहभागी हुँदै आए पनि सेमीफाइनलबाट माथिको यो यात्रा पहिलो हो । एन्काका अध्यक्ष विजय जोशीले नेपाली टिमले पहिलो पटक फाइनलमा पुग्नु गाैरवपूर्ण भएको र आइतबार फाइनलमा विजय हासिल गरेर थप इतिहास रच्ने बताए । उनले साउथ अष्ट्रेलियको क्रिकेटमा नेपाली मुलका खेलाडीहरुले विस्तारै आफ्नो क्षमता प्रदर्शन गर्दै आगाडी बढेको बताए ।

साउथ अष्ट्रेलियको मेट्रोपोलिटन क्षेत्रमा भएका २५ भन्दा धेरै क्रिकेट एसोसियसनका उत्कृष्ट खेलाडीहरुको टिम सहभागी खेलमा नेपाली टिमको सफलता अहिलेको पुस्ता मात्र नभएर अष्ट्रेलियामा हुर्कदै गरेको नयाँ पुस्ताका लागि प्रेरणा र पथप्रदर्शक हुने बताए ।

साउथ अष्ट्रेलियन प्रिमियरका ए श्रेणीका खेलाडी सुनम गौतमको कप्तानीमा रहेको नेपाली टिमको जितले अष्ट्रेलियाको क्रिकेटमा नेपालीहरुको राम्रो छाप पार्नेमा अध्यक्ष जोशीले विश्वास व्यक्त गरे। उनले सबै एडिलेडवासी नेपालीहरुलाई दर्शकका रुपमा खेलाडीहरुको हौसला बढाउन उपस्थितका लागि अनुरोध गरेका छन ।

ज्याक वेदरल्ड र हेनरी हन्ट ।

यसैगरी गत जनवरी ३१ बाट शुरु भएको एडिलेडका बालबालिकाहरुका लागि क्रिकेटसँगै समुन्द्री तट सुरक्षा प्रशिक्षणको समापन कार्यक्रम समेत आइतवार नै ग्लेनेलमा दिनको ४ बजेबाट हुने एन्काले जनाएको छ । समापन कार्यक्रममा अष्ट्रेलियाको प्रतिष्ठित क्लव एडिलेड स्ट्याकरका खेलाडीहरु ज्याक वेदरल्ड र हेनरी हन्टको उपस्थिति रहने भएको छ । सहभागी खेलाडीहरुलाई आयोजकका तर्फबाट मेडल तथा प्रमाणपत्र दिने कार्यक्रम रहेको एन्काले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १२:४५