१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जग्गा कारोबारको नाफामा विवाद हुँदा तीन साझेदारको हत्या, तीन जना पक्राउ

२१ माघ, मोरङ । जग्गा कारोबारको नाफामा विवाद हुँदा तीन साझेदारको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी मोरङले शुक्रबार पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरी नगरपालिका र मोरङको धनपालथान गाउँपालिकामा व्यापारिक कारोबारका तीन जना साझेदारको हत्या आरोपमा तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौँको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम रहेको मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले जानकारी दिए । उनले तीनै जनाको हत्याको प्रकृति उस्तै रहेको र शव पुर्ने क्रममा नुनको प्रयोग गरिएको पाइएको बताए ।

सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी मोरङको धनपालथानस्थीत उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थिए । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो ।

यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १६:५४