२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

देउवाद्धारा प्रचण्ड, नेपाल र पाैडेलका लागि रोजगारी सिर्जना, पाँच दलीय समन्वय समिति गठन

२२ कात्तिक, काठमाडाैँ । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सबै राजनीतिक दलहरुले २/२ महिना संयोजन गर्ने सो समन्वय समितिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका छन भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २/२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता कार्कीले जानकारी दिए ।

उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताए । मन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनले निकट भविष्यमा हुने राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनहरुमा पाँच दलीय गठबन्धनको संयुक्त रुपमा त्यो निर्वाचनलाई संयुक्त रुपमा तयारी गर्ने निर्णयका साथ पाँच दलीय गठबन्धनको एउटा पाँच दलीय गठबन्धन समन्वय समितिको निर्माण भएको छ । र त्यो समन्वय समितिमा नेपाली काँग्रेसको तर्फबाट २ जना रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, त्यस्तै गरेर माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधव नेपालको पाटीबाट माधव नेपाल र एक जनाको नाम दिन बाँकि छ ।’

त्यस्तै उनले अघि भने, ‘उपेन्द्र यादवको दलबाट उपेन्द्र यादव र एक जनाको नाम आउन बाँकि छ । र राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र माननीय दुर्गा पौडेलको एउटा समन्वय समिति गठन भएको छ । र त्यो समितिमा सरकारको तर्फबाट मन्त्रीको हैसियतमा मैले त्यसमा सहभागिता जनाउनेछु । र त्यो समितिको मिटिङहरुमा प्रधानमन्त्रीको उपस्थिति रहनेछ । र त्यो मिटिङले मुलुकलाई जुन उद्देश्यको निमित्त गठबन्धनको निर्माण भएको थियो । त्यो उद्धेश्यलाई प्रभावकारी र व्यवस्थित रुपमाले अगाडि बढाउनका निमित्त यो गठबन्धन अगाडि बढनेछ । र यो गठबन्धनमा २÷२ महिनामा रोटेशनको आधारमा संयोजन गर्नेछ । र पहिलो पटक नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल २ महिनाका निमित्त संयोजन गर्नु हुनेछ । र त्यसको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको जुन अपेक्षा छ, त्यो अपेक्षा पूरा गराउन सरकारलाई सहयोग गर्नु रहेको छ ।’

प्रधानमन्त्री देउवा अनिवार्य रुपमा उपस्थिति हुने सो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गराउन सहयोग गर्नु रहेको पनि मन्त्री कार्कीले बताउनु भयो । आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्त रुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।

प्रकाशित मिति : November 8, 2021 at 8:28 pm