परमादेशी सबै न्यायाधीशले राजिनामा दिनुको विकल्प छैनः अध्यक्ष ओली
२२ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसिसी) सम्झौताबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ ।
एमसिसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र पास गर्ने भनेर त्यस्तो पत्र नपठाइएको भन्ने अध्यक्ष प्रचण्डले अभिव्यक्तिमध्ये एक जनाले ढाँटेको देखिएकाले त्यसो नगर्न सचेत गराउनुभएको हो ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुईमध्ये एउटाले झुट बोल्या जस्तो देखियो नि ? त्यस्तो झुट बोल्नु हुँदैन ।’
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहो¥याउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशले संविधानको पालना नगरेको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै राजीनामा दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरु कसैले पनि अदालतको बचाउनुभएको छैन । संविधानको पालना कसैले गर्नुभएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । उसले त आफैं संविधानको अनेक धाराहरु आफै सृजना ग¥यो ।’
अध्यक्ष ओलीले आज एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापानमा सहभागी भई कार्यकर्तालाई सम्बोधन गर्नुभयो भने रानीस्थित पुरानो रघुपति जुट मिल्सको अवलोकन गर्न पुग्नुभएको थियो ।
प्रकाशित मिति : November 8, 2021 at 8:20 pm










