२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न एमाले उपाध्यक्ष रावलको माग

१८ कात्तिक, काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष डा. भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त पत्र सार्वजनिक गर्न माग गरेका हुन ।

उपाध्यक्ष डा रावलले भनेका छन, ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रमं देउवाले एमसीसी पारित गराउने भनी आफु र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो?’

त्यसअघि देउवाले यस्तो भनेका थिए 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बन्नु अघिनै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सचिवालयलाई यही संसदबाट अनुमोदन गराउने प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा भएको छ ।

साताव्यापी स्कटल्यान्डको भ्रमण सकेर बिहीबार स्वादेश फर्किनेक्रममा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले यसअघि नै आफू र प्रचण्डले एमसीसीको सचिवालयलाई पत्र नै लेखेर सम्झौता अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलासा गरेका हुन । एमसीसीको कुरा सुन्ने बित्तिकै सतर्क बन्ने गरेका प्रचण्ड पछिल्लो समय सम्झौताबारे बोल्ने गरेका छैनन् ।

देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको पनि प्रस्ट पारे । देउवाले आफूहरूबीच मंगलबार भेटवार्ता भएको पनि जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गरे । देउवाले आफूले एमसीसी सम्झौताको सम्बन्धमा नभएर अध्यादेश जारी गर्नका लागि भएको जानकारी दिएको पनि प्रस्ट पारे । वर्तमान सत्ता गठबन्धन नै एमसीसीको जगमा बनेको देखिएको छ ।

प्रकाशित मिति : November 4, 2021 at 5:22 pm