ऋण लिएर नतिर्ने सयौं महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकको ३५ दिने अल्टिमेटम
२० कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सहुलियतपूर्ण योजनाअन्तर्गत विनाधितो ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने महिला उद्यमीहरूको सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र सम्पूर्ण कर्जा चुक्ता नगरे ऋणी तथा जमानीकर्ताहरूलाई कालोसूचीमा राख्ने र राहदानी (पासपोर्ट) जफत गर्ने चेतावनी दिएको हो ।
बैंकको कर्जा असुली विभागले कात्तिक २० गते प्रकाशित गरेको सूचनामा ऋणी तथा जमानीकर्तालाई सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई सम्पूर्ण बक्यौता बुझाउन भनिएको छ। पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋण नतिरेको र बैंकको सम्पर्कमा नआएको भन्दै बैंकले सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ।

बैंकले तोकिएको ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणी, प्रोप्राइटर तथा व्यक्तिगत जमानीकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न सिफारिस गर्ने जनाएको छ। त्यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ग) बमोजिम कारबाहीका लागि सिफारिस गरी ऋणी तथा जमानीकर्ताहरूको राहदानी (पासपोर्ट) रोक्का र जफत गरिनेछ तथा विदेश जान रोक लगाइनेछ । साथै ऋणीहरूको नाममा रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खाता, चल-अचल सम्पत्ति रोक्का हुनेछ । बैंकले ऋणीहरूलाई राज्यबाट उपलब्ध हुने कुनै पनि सामाजिक, सार्वजनिक वा नागरिक सुविधाबाट बञ्चित गराउन सम्बन्धित निकायमा लेखी पठाउने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ बमोजिम ऋणी तथा जमानीकर्ताहरूको नाममा रहेको निजी सम्पत्ति खोजतलास गरी लिलाम बिक्रीबाट बैंकको बाँकी बक्यौता असुलउपर गर्ने चेतावनी दिएको छ ।
बैंकले सार्वजनिक गरेको ऋणीको सूचीमा देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न शाखाबाट कर्जा लिएका महिला उद्यमी तथा फर्महरू छन्। धनकुटा, इटहरी, गाईघाट, उदयपुर, नुवाकोट, धादिङ, हेटौंडा, काठमाडौंको टेकु, सुर्खेत, घोराही, तुलसीपुर, डडेल्धुरा र धनगढीलगायत शाखाबाट कर्जा लिएका ऋणी सूचीमा परेका छन्।

प्रकाशित मिति : November 6, 2026 at 4:07 pm










