२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेले दशौँ राष्ट्रिय महाधिवेशन मार्फत लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने

१६ कात्तिक, काठमाडाैँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन ।

महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”

उनले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिए ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । छलफलमा प्रचार विभागका उपप्रमुख सूर्य थापा, विभागका सदस्य समेत रहेका प्रेस चाैतारीका पूर्व अध्यक्षद्धय गगन विष्ट र राजेन्द्र अर्याल, प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायत सहभागी थिए ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गरेका थिए । एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : November 2, 2021 at 10:21 pm