नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटीको अध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा राजेन्द्र वली
१६ कात्तिक, नुवाकोट । नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटीको अध्यक्षमा विष्णु श्रेष्ठ चयन भएका छन । मंगलबार भएको गाउँकमिटीको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपध्यक्षमा चिरञ्जिवी अधिकारी, सचिवमा राजेन्द्र वली र उपसचिवद्धयमा सिद्ध लामा र नारायण खड्कालाई चयन गरेको छ । अधिवेशले ७५ सदस्यीय गाउँकमिटी नै निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाटै दोर्जे लामाको अध्यक्षमा युवा संघको कमिटी गठन भएको छ भने अनेरास्ववियू र अनेमसंघको पनि कमिटीहरू गठन भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीका सचिवालय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले नेकपा एमाले अब हुने सबै निर्वाचनमा पहिलो हुने बताए । उनले नुवाकोटको विकासका लागि एमालेले जति काम अन्य दलले गर्न नसकेको बताए । उनले सरकारमा हुँदामात्रै होइन नहुँदा पनि एमाले जनतासँगै रहने र जनताको दैनिकी समस्यमा समाधानमा लागि पर्ने बताए ।
त्यस्तै नुवाकोट एमालेका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले नुवाकोटको विकासका लागि अब एमालेको विकल्प छैन भन्ने कुरा जनताले नै बुझिसकेको बताए । उनले करिब ४ वर्षको अबधिमा जनप्रतिनिधिको हैसियतामा उत्कृष्ट काम गर्ने कोशिश गरेको भन्दै त्यसको मूल्यांकन गर्न जनतामाझ अपिल गरे ।

एमालेको प्रतिनिधिको रूपमा जिल्लाको विकास र जनताको सुखदुःखमा सधैँ साथै रहेको भन्दै नेता मैनालीले आगामी निर्वाचनमा पुनः पहिलो पार्टी हुने बताए । उनले नुवाकोटको ८८ वटा वडा, १२ पालिका, ४ प्रादेशिक क्षेत्र र २ संघीय निर्वाचन क्षेत्रमा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवार जिताउने गरी नयाँ बनेका कमिटीहरूले काम गर्नुपर्ने बताए ।
अधिवेशनमा बागमती प्रदेश कमिटीका सदस्य एवं जिल्ला कमिटीका उपसचिव विष्णु लोहनी, प्रदेश कमिटीका सदस्य एवं जिल्ला कमिटीका कोषाध्यक्ष काशिराज अधिकारी, प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठ, एमाले जिल्ला कमिटीका सदस्यहरू जितेन्द्र विष्ट, मिलन लामा लगायतले अधिवेशन सभालताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : November 2, 2021 at 8:25 pm










