२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

स्थानीय तहको अघि नै प्रतिनिधिसभाको निर्वाचन हुनसक्छः अध्यक्ष प्रचण्ड

१५ कात्तिक, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको अघि नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने बताएका छन । सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैँ, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पहिला संघीय चुनाव हुन सक्ने बताए ।

अध्यक्ष प्रचण्डले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको पनि बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए ।

उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानिय तहको निर्वाचन गर्ने बिचारहरु पनि छलफलमा आएको दिए ।। उनले भने, ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तिनै तहको निर्वाचन एकैचोटी गर्ने । प्रदेश अनुसार चरण चरण गरेर गर्ने तिन चरण । गन्ने काउन्टीङ चाहिँ एकैचोटी गर्ने ग¥यो भने त्यो धेरै चलखेल, षड्यन्त्रपनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दलहरुलाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ । अर्को, तिनवटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने बिचार पनि छ । यि दुईवटा विचारको विचमा छलफल चलिराखेको छ ।’

उनले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरु भइरहेको पनि बताए । गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए ।

गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजि भइरहेको पनि उनले जिकिर गरे । वैदेशिक शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजिमा लागिरहेको पनि उनले बताए ।

उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौ भन्न सक्ने स्थिति अझैपनि छैन । यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ । फेरीपनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रुपले । या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ । यहाँ भित्र अर्को त्यस्तो निरंकुश प्रवृतिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनै राख्या छ । वैदेशिक प्रतिक्रियावादीहरुको त्यो पक्ष जसले नेपालको यो परिवर्तनलाई रुचाएको छैन । यो संविधानलाई रुचाएको छैन । ति शक्तिहरु पनि कहीँ न कहीँ यो गठबन्धन कमजोर पार्ने उपायहरुको खोजीमा छन् । त्यसकारण कर्मचारी साथीहरु तपाई हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कतिबेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’

प्रचण्डले विगतका सरकारले रोकेका सबै विधेयकहरू पारित गराउनेतर्फ बर्तमान सरकार लागि परेको पनि बताए । निजामती ऐन, प्रहरी ऐन लगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडी बढाउने उनले बताए । समितिबाट पारित भएका अन्य सबै विधेयकहरुलाई सरकारले अगाडी बढाउने उनले स्पष्ट पारे ।

प्रचण्डले भने, ‘गठबन्धनको सरकार बनिसकेपछि हामी हिजोका सरकारले रोकेका सबै विधेयकहरुलाई पारित गराउनेतिर हामी छौँ । यो निजामती ऐन सम्बन्धी, अनि यो प्रहरी ऐन सम्बन्धी, प्रदेशलाई दिने अधिकार सँग सम्बन्धित कुरा, कर्मचारीको सरुवा, बढुवा, समायोजनसँग सम्बन्धित कुराका ऐनहरुलाई हामी छिटोभन्दा छिटो त्यसलाई अगाडी बढाउन चाहेका छौँ । हिजो समितिबाट पारित भएर आएका विधेयकहरु जो प्रधानमन्त्रीको सिरानीमा बसे महिनौँसम्म, ति सबैलाई हामी अगाडी बढाउनेमा छौँ ।’

प्रकाशित मिति : November 1, 2021 at 6:59 pm