२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

युवा पुस्ता एकै ठाउँमा उभिनुपर्छ: कांग्रेस नेता घिमिरे

१० कात्तिक, सर्लाही । सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले युवा पुस्ता नेतृत्वका लागि सक्षम रहेको बताएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन् कात्तिक ९ गते सर्लाही पुगेका नेता घिमिरेले दोस्रो दिन सर्लाहीमा पत्रकारसँग कुरा गर्दै अब युवापुस्ताले पुरानो पुस्तालाई नेपाली कांग्रेसमा रिप्लेस गर्न तयार रहेको बताए ।

‘युवापुस्ताले कांग्रेसमा अबको नेतृत्व लिनु पर्दछ । यसमा दुई मत छैन,’ नेता घिमिरेले भने, ‘म अहिले नै कुनै पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गर्ने छैन । किनकि मेरो आवश्यकता छ भने अवश्य मैले त्यो स्थान पाउँछु नत्र म उम्मेदवारी नै नदिन पनि सक्छु ।’ उनले पार्टीका पुराना नेतालाई ‘विश्राम ‘ लिन आग्रहका छन् । ‘अब पनि हामीलाई विश्वास नगर्ने हो भने परिवर्तन कसरी हुन्छ,’ नेता घिमिरेले भने, ‘अब सम्मानजनक बिदाइ नलिए युवाले बहिर्गमन गर्नेछन् ।’

उनले आउँदो १४औं अधिवेशनलाई एकताको सन्देश दिने अधिवेशनको रूपमा युवाले तयारी गर्नु पर्नेमा जोड दिए । नेता घिमिरेकै कुरामा सहमत हुँदै नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीलाई विधान अनुरूप चलाउन युवा एक ठाउँमा उभिनुको विकल्प नरहेको प्रस्ट्याए । ‘हामीले पटक-पटक अधिवेशन सार्नु निकै दुखद् छ । पहिलो प्राथमिकता त पार्टीको अधिवेशन सही समयमा गराउन दबाब दिनु पनि छ,’ उनले भने । नेता पाण्डेले नेतृत्व परिवर्तनमाथि नभई स्थानीय तहबाट नै भए मात्र सम्भव हुने बताए ।

‘हामीले माथि हेर्छौ । तर, परिवर्तन वडा, गाउँ, नगर र क्षेत्रबाट नै गर्नु पर्ने हुन्छ । त्यसमा चनाखो हुनु होला । आफ्नो समस्या सम्बोधन गर्न सक्ने र पुस्तान्तरण हुन् सक्ने नेतालाई छनौट गर्नु होला,’ पाण्डेले भने ।

प्रकाशित मिति : October 27, 2021 at 8:50 pm