२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने प्रचण्ड अस्थिरताको खेलाडी हुन्ः नेता ज्ञवाली

९ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा रहेका छर्रा बिर्सेर सत्ताको लागि जे पनि गर्छन् । अहिले कांग्रेसको पाहुना बनेका छन्,’ उनले भने, ‘अपवित्र गठबन्धप्रति जनताको केही आश छैन ।’

त्यस्तै उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

उनले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

देशमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने पार्टी एमाले भएको दाबी गर्दै उनले विधान महाधिवेशनसहित देशभर वडा र पालिकाको अधिवेशन एकै साथ सम्पन्न गरिरहेको बताए ।

उनले आज नै मुसिकोट नगरकमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँकमिटी र २ नगरकमिटीको प्रथम अधिवेश एकैसाथ सुरु भएका छन् ।

प्रकाशित मिति : October 26, 2021 at 3:35 pm