एमालेको वडा अधिवेशन: महोत्तरीमा समानान्तर कमिटी, नुवाकोटमा पनि समानान्तरको तयारी
८ कात्तिक, काठमाडाैँ । महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी समेत गठन भएका छन ।
पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ । केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए ।

‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ । अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले दैनिकीसँग भने ।महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए ।
यस्तै नुवाकोटको लिखु गाउँपालिकाको वडा नम्बर १ र ३ मा पनि समानान्तर कमिटीको चेतावनी दिइएको छ । कोठाभित्र बसेर निश्चित व्यक्तिले नेतृत्व घोषणा गरेको भन्दै लिखुको वडा नम्बर १ र ३ मा समानान्तर कमिटी बनाउने चेतावनी दिइएको हो । संस्थापन पक्षको नेतृत्व बलियो भनेपछि १० बुँदेको बाटोबाट एमालेमा फर्किएकाहरू सशंकित बनेका छन ।
प्रकाशित मिति : October 25, 2021 at 8:28 am










