कात्तिक ६ गते देशैभर एमालेको वडा अधिवेशन, नेतृत्वमा ३३ प्रतिशत महिला निर्वाचित हुने
३१ असोज, काठमाडाैँ । नेकपा (एमाले) महाधिवेशनको तयारीमा जुटेको छ । एमालेले कात्तिक ६ गते देशभरका वडाबाट अधिवेशन सुरू गर्दैछ । देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरिएको र त्यसको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल रूपमा उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमाले र माओवादी एकीकरणका नाममा करिब तीन वर्षबढी अलमलिदाँ एमालेले स्थानीय तहको नेतृत्व अन्योलमा रहेको थियो । एमाले विभाजन अघि समानान्तर गतिबिधिका नाममा संस्थापन पक्षले वडा तहसम्मको कमिटी निर्माण गरेको भए पनि फेरि महाधिवेशनका लागि वडा अधिवेशन हुन लागेको हो ।
एमालेले ६ गते वडा अधिवेशन सम्पन्न गरेपछि कात्तिक ९ गते देशैभर पालिका अधिवेशन गर्दैछ । त्यसपछि जिल्ला र प्रदेश कमिटीको अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको महाधिवेशन मंसिरमा हुँदैछ । एमालेले वडातह देखिनै नेतृत्वमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेको छ ।
नयाँ सदस्यताका लागि फारम भरेकाहरूले संगठित सदस्यता नपाएका कारण एमालेको अधिवेशन त्यति उत्साहजनक नहुन सक्ने अनुमान गरिएको छ । १० बुँदे सहमति र १० जना नेताका नाममा पछिल्लो चार वर्षयता नयाँ सदस्यता दिएको छैन ।
एमालेले यो निर्णय उसको अन्तरजीवनमा घातक हुने राजनीतिक विश्लेषण छ । राजनीतिमा पार्टीको विचार, कार्यनीति र एजेण्डा मन पराएर एमालेमा आवद्ध भएर अघि बढ्न चाहेका पछिल्लो पुस्ताका हजारौँ युवा एमालेको पछिल्लो सहमतिको नाममा बन्धक बन्दैछन । यद्यपी नेतृत्वको यस विषयमा गम्भीर ढंगले सोचेको छैन ।
एमालेका एक जना नेताले दैनिकीसँग भने, ‘एमालेलाई केही पुराना कार्यकर्ता जोगाउन नयाँ सदस्यता रोक्ने निर्णय सहि भए पनि सबैभन्दा बढी मतदाता अर्थात आफ्ना परिवारका सदस्यलाई प्रभावित पार्न सक्ने क्षमता भएका युवाहरू सदस्यताका नाममा अधिवेशनमा सहभागी हुन नपाएपछि पुरानै जाँगरका साथ पार्टी काममा लाग्लान भन्ने छैन । त्यसकारण हाम्रो नेतृत्वले निर्णय सच्याएर अघि बढ्नुपर्छ ।’
प्रकाशित मिति : October 17, 2021 at 5:10 pm










