१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

गोविन्द केसीको अनसन र सम्पादकहरूको जुलुशसहितको पक्षधरता

–माधवप्रसाद तिवारी

नेपाली पत्रकारितामा सबैभन्दा खड्किएको एउटा विषय व्यवसायिकताको अभाव हो । तर कैयन कमी कमजोरीहरु हुँदा हुँदै पनि विचार र धारणाको विविधता नेपाली पत्रकारिताको उल्लेखनीय पक्ष हो । दस वाह्र जना सम्पादक वा पत्रकारहरुले मोर्चावन्दी गरेर नेपाली पत्रकारिताको यही सकारात्मक पक्षमा आक्रमण गरेका छन । सन्दर्भ प्रा डा गोविन्द केसीको अनसनको हो । डा केसी आजमात्र अनसनमा छैनन् उनले जम्मा एउटा मेडिकलेजको सम्बन्धन रोक्न १४ पटक अनसन बसे र अहिले १५ औँ पटक अनसन बस्दैछन । उनका उद्देश्य र माग जे जस्तो भएपनि सारमा उनी स्वतन्त्र छैनन, विवेकशील साझा र कांग्रेसको भीडले लतारिंदै छन ।

हो, यही मागको जगमा अनसन बस्दै आएका केसीको यो १५ औँ श्रृंखलामा १४ जना सम्पादकहरु (केही पत्रकारको नाम मात्र राखिएको छ, संख्या बढाउन यसो गरिएको सजिलै बुझ्न सकिन्छ) । जुलुस गएर आफ्नो पक्षधरता प्रस्तुत गरेका छन । यो पक्षधरता पनि कस्तो समयमा आएको छ भने गोविन्द केसी चरम विवादित पत्र बनेका छन समाजको नजरमा । पुरै समाज दुई कित्तामा विभाजित छ र गोविन्द केसीको पक्ष र विपक्षमा अनेकन तर्कहरु प्रस्तुत गरेर बहसहरु चलिरहेकै छन । पात्रको विषयमात्रै पनि त्यति ठूलो थिएन यहाँ त केसीले उठाएका मागका विषयमा समेत चर्को बहस र विवाद भैरहेको छ । तर यही बीचमा सम्पादकहरुले गोविन्द केसीको अघि तस्बीर खिचाउँदै एउटा अपिल समेत सार्वजनिक गरेर आफ्नो पक्षधरता देखाएका छन ।

–माधवप्रसाद तिवारी

हो, अमित ढकालदेखि गोविन्द अधिकारीसम्मले अनसनमा व्यक्तिगत रुपमा आफ्नो हक र अधिकारको प्रयोग गर्न स्वतन्त्र छन, संविधान र कानुनले त्यो छुट दिएको छ । तर जुलुशै गएर हामी एक छौँ, हाम्रो ऐक्यवद्धता छ भनेर अपिल मार्फत सरकारको ध्यानाकर्षण गराउनु व्यवसायिक पत्रकारिताको दृष्टिकोणले नितान्त गलत रहेको छ । हरेक दिन उहाँहरुले सम्पादन गर्ने अखबार/अनलाइन/रेडियो/टेलिभिजन गोविन्द केसीको अनसनको मुखपत्र बनेर प्रस्तुत हुने अनि उहाँ सम्पादकज्यूहरु नै फिल्डमा उत्रेर जुलुश गर्नुले उहाँहरुको यो पहलकारितामा प्रश्नहरु व्यापक उठेका छन । यति विवादित विषयमा सम्पादकहरुले एकै ठाउँमा उभिएर हामी एकै हौँ भनेपछि पाठकहरुले पाउनुपर्नेे विविधता नपाउने भए । सम्पादकहरु स्वयमका नैतिक धरातलमा प्रश्न उब्जियो र यति ठूलो विवादमा एउटा पक्षको बोली दबाउनका लागि उनीहरुलको सिण्डिकेट जन्मियो ।

गोविन्द केसी जस्ता पात्र भए पनि वा उनले उठाएका मागहरु जति विवादित भएपनि छलफल आवश्यक भएपनि केसीको अनसन र ऐक्यवध्दता जनाउने सम्पादकहरुको पनि भएको छ । त्यसकारण सम्पादकहरुको जुलुशसहितको केसी अनसनको ऐक्यवद्धताले व्यवसायिक पत्रकारिताको मर्ममाथि प्राहर गरेको छ । र अर्को कुरा यर्थातमा आधारित रहेर समाचार सम्प्रेषण गर्ने अर्काथरी सञ्चार माध्यममाथि उहाँहरुले पाल्ने पूर्वाग्रह र आरोप त्यही रुपमा उहाँहरु माथि फर्किएको छ ।

चार दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न हजारौँ पत्रकारलाई आमसञ्चार तथा पत्रकारिताको सिद्धान्त पढाएका प्राध्यापक पी खरेल पनि सम्पादकहरु जुलुश लिएर गएर एउटा पक्षको पक्षधरता लिनुलाई व्यवसायिक मान्दैनन् । दैनिकीसँगको कुराकानीमा वरिष्ठ पत्रकार खरेलले भने ‘पत्रकारिता र व्यवसायिकताको दृष्णिकोणले कुनै विषयमा ग्याङ बनाएर जानु राम्रो हैन । लेखे हुन्छ तर फिल्डमै जानु व्यवसायिक आचारण होइन । दलै जस्तो गरेर व्यवसयिक धर्म हुँदैन । आफूलाई राज्यको चौँथो अंग भन्ने अनि एउटा पक्षको आवाज दबाउन घोषित नीति लिने काम सम्पादकले गुर्नहुन्न । हुनतः संविधान र कानुनले अधिकार दिएको छ भन्ने होला त्यसो भए प्रधानन्यायाधीश पनि गएर अनसनमा ऐक्याबद्धता जनाए भो नि तर उहाँले आफ्नो पदीय मर्यादा भुल्नु हुन्न र जानु पनि हुन्न । न्यायालयको समेत वाचडग गर्ने चौँथो अंगको रुपमा स्वीकार गरिएको सञ्चार माध्यममा कार्यरत सम्पादकहरुले पक्षधरता लिनु राम्रो हैन ।’

आफूलाई सबैभन्दा व्यवसायिक पत्रकार भन्ने तर कहिले भारतीय दूतावासबाट लाखौँ रुपैयाँ ल्याएर नाकाबन्दीको पक्षपोषण गर्ने त कहिले आफ्ना मिडिया मालिकले जग्गा किन्ने ठेक्का पाएनन् भनेर अमुक संस्थाको विरुद्धमा धाराप्रवाह समाचार प्रकाशित गर्ने प्रवृतिले व्यसायिकतालाई मार्दै लगेको छ । आवाज बिहीनहरुको आवाज बन्नुपर्ने सञ्चार माध्यमहरु यसरी स्खलित हुँदै जाने हो भने कसरी पत्रकारिताको व्यसायिक धर्म निर्वाह होला, कसरी संस्थागत होला ?

त्रिभूवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागसँग समेत आवध्द वरिष्ठ पत्रकार तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन आर्यालको विचारमा नेपाली पत्रकारिताको मूल प्रवृति भनेको विविधता नै हो । उनको विचारमा लोकतन्त्रमा कुनै पनि वहसका सबै पक्षलाई ठाउँ दिएर जनतालाई समग्र अवस्थाका बारेमा अवगत हुने अवसर उपलब्ध गराउने कुरामा नेपाली आमसञ्चारको भूमिका प्रभावकारी रहँदै आएको थियो । तर सम्पादकहरुको यस्तो मोर्चावन्दीका कारण उहाँहरुजस्तो सम्मानित पत्रकारहरुले घटनाको एउटा पाटोलाई मात्र स्थान दिनेछौं भन्न खोजेको ठहरिन्छ । के उहाँहरु वहसको एउटा पक्षलाई मात्र स्थान दिएन देशमा मौनताको कुचक्र श्रृजना गर्न चाहनु हुन्छ ? सबै पक्षका धारणालाई स्वच्छतापूर्वक प्रस्तुत गर्ने पत्रकारिताको व्यावसायिक धर्म निर्वाह नगर्दा मार्केटप्लेस अफ आइडियाको श्रृजना हुन सक्छ ?सबै पक्षहरुले स्थान पाउन सक्छ ? सम्पादकहरुले खुलेआम राष्ट्रिय वहसमा हामी यो पक्षमा उभ्भिएका छौं भनेर घोषणा गर्दा अर्को पक्षलाई हामी एक्सक्लुड गर्छौं भन्ने घोषणा गरेको अर्थ लाग्न जान्छ । जानी वा नजानी यस्तो अर्थ लाग्ने काम व्यावसायिक पत्रकार भनेर चिनिएका साथीहरुले गर्नै हुने थिएन । नेपाली पत्रकारिताको गौरवमय परम्परामा यो घटनाले घात गरेको छ । व्यावसायिक कुरा गर्ने हो भने पत्रकारले गल्ती देखाउने हो तर पक्षधरता लिनु गलत हो ।

जुलशसहित गोविन्द केसीको अनसनको पक्षधरता लिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सम्पादकहरू ।

डा. अर्याल भन्छन, व्यावसायिक पत्रकारिताका दृष्टिले पाठक, श्रोता र दर्शकप्रति पत्रकार र सञ्चार माध्यम न्यायाधीश हो । न्यायाधिशले फैसला भन्दा अघि नै पक्षधरता देखायो भने त्यस्तो न्याय सम्पादनको कुनै अर्थ हुँदैन । त्यसकारण सम्पादकहरुले पनि लेखाइबाट भूमिका देखाउने तर फिल्डमा उत्रेर जुलुश निकालेर पक्षधरता देखाउनु चाहिँ गलत हो ।

डा. अर्याल पुरानो कुरा सम्झिदैं भन्छन, कुनै बेला होमनाथ दाहालजस्तो कांग्रेसका नेता भनेर चिनिएका वरिष्ठ पत्रकार र रघु पन्तजस्ता कम्युनिष्ट नेताका रुपमा चिनिएका वरिष्ठ पत्रकारहरुले नेपाल पत्रकार संघको पहलमा त्यसबेलाका सत्ता पक्ष कांग्रेस र प्रतिपक्ष एमालेबीच सम्वादको सुरुवात गर्ने सेतूको निर्माण गरेका थिए । तर अहिलेका सम्पादकहरु एक पक्षमा उभ्भिएर सम्वादको वाधक बन्न खोजेका हुन त भन्ने प्रश्न उत्पन्न गरेका छन ।

गोविन्द केसी हेपावाह प्रवृतिका त्रिविका कर्मचारी हुन । उनी हाडजोर्नीका विशेषज्ञ हुन तर व्यवहारमा भन्ने हो भने उनको विशेषज्ञता त्यस्ता बिरामीको आफैँ उपचार गर्ने भन्दा अन्य निजी अस्पताल क्लिनिकमा पठाउन देखिन्छ । अर्को कुरा हाडजोर्नीको उपचार गर्न भन्दा एउटा झोलामा जीवनजल बोकेर केही दिन गाउँ शहर डुल्दै फोटो खिचाउने रहर उनमा अझै बढ्दा छ । अनुशनको कुरा गर्ने हो भने त केसी शून्यतामा छन उनको बोली र व्यवहारले त्यो कुरा झल्काउँदै आएको छ । डा सुन्दरमणि दिक्षितका अनुसार उनी गैरव्यवसायिक आचारण भएका चिकित्सक हुन, जसले असामान्य मान्छेको जस्तो व्यवहार प्रस्तुत गरिरहेको छ ।

प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठका अनुसार केसीको अनसन र उनले उठाएका मागका विषयमा राष्ट्रिय रुपमा बहसहहरु भैरहेको समयमा सम्पादकहरुले नै पक्षधरता देखाउनु ठीक होइन । उनी भन्छन ‘सबै विषयमा गम्भीर छलफल भैरहेको छ । तर यस्तै बीचमा पक्षधरता प्रस्तुत भयो भने छलफल गराउनुपर्ने सम्पादहरुको दायित्य निर्वाहमा समस्या हुन्छ । वादविवादनमा एकातिर लाग्दा अर्को पक्षले आवाज दबिन सक्छ । त्यसकारण व्यवसायिक आचरणभित्र यस्तो गतिबिधि पर्दैन ।’

गोविन्द केसीको आन्दोलनका सबैपटो अझै सार्वजनिक भएका छैनन् । मेडिकल शिक्षाका लागि विदेशमा विद्यार्थी पठाउनेदेखि विगतदेखि सञ्चालनमा रहेका मेडिकल कलेजका सञ्चालकले अनसनका नाममा हुने अराजक गतिबिधि र केही सञ्चार माध्यम तीनका सम्पादक र स्वास्थ्य हेर्ने बिट रिपोर्टर माथि लगानी गरिरहेको आरोपहरु दिनदिनै बढ्दै गएका छन । यद्यपी यसको सत्यता परीक्षण आगामी दिनमा हुँदै जाला तर यस्ता आरोपहरु लाग्नुले नै अनसन किन र केका लागि भएको छ र यसको निहित स्वार्थ के हो भन्ने विषयमा लागि सामान्य अड्कलबाजी गर्न खासै समस्या नरहला ।

मुलधारको मिडियाको नेतृत्व गरिरहेका सम्पादकहरु नै यसरी ग्याङ बनाएर सडकमा उत्रिनुले लोकतन्त्रको स्वास्थ संस्थागत विकासमा कसरी सहयोग पुग्ला ? संसदको सार्वभौम अधिकार कुण्ठित गर्नुपर्छ सडकबाट उठेका मागहरु हुबहु पूरा हुनुपर्छ भन्ने अवस्थामा जनमतको कसरी कदर होला । केही रोजगार र धेरै बेरोजगार युवाको भीड सडकमा देखाउँदैमा संसदको अधिकार कुण्ठित गर्न मिल्ला र ? कानुन बनाउनका लागि संसदको गठन भएको हो कानुनहरुमा जनताले पनि खुला रुपमा राय दिन पाउँछन तर त्यसलाई अन्तिम रुप दिएर कानुन बनाउनेकाम जनप्रतिनिधिको नकि गोविन्स केसी र १४ जना सम्पादकको हो ।

निर्वाचनमा एउटा पार्टीको उम्मेदवारलाई मत माग्दै हिड्ने, आफूले पाएको जिम्मेवारी कहिल्यै पूरा नगर्ने अनि राष्ट्र र सम्पूर्ण नेपालीका लागि माग गरेको भन्दै तमासा प्रस्तुत गर्नुले कहिल्यै निकास निस्कदैन । वास्तवमा हाम्रो राज्य संयन्त्र सिस्टममा रन हुने अवस्था रहेको थियो आजका दिनमा अस्पतालमा हड्ताद हुँदा र अस्पतालमा अनसनका नाममा अस्तव्यस्त बनाउँदा प्रहरीले टुलुटुलु हेरेर बस्ने थिएन ।

र अन्त्यमा
केसीले काम गर्नका निम्त जुम्ला जनुपर्छ भनेर तत्कालीन अवस्थामा राजिनामा दिए पनि अनसनका लागि भने गए । उनी त्यहाँ गए अनसन बसे । उनको स्वास्थ्य जाँच स्वतन्त्र चिकित्सकले गर्न नमिल्ने, अनि भोकभोकै २३ दिनसम्म बस्न सक्ने, केसी मर्न लागेभनेर समाचार लेख्ने र त्यही केसीलाई उपचारका लागि अन्य अस्पातालमा लैजान खोजे पत्रकार समेत प्रहरीमाथि ढुंगामुढा गर्न जाइलाग्ने, तरुण दलका कार्यकर्ताले पत्रकारलाई ढुंगाले हानेर घाइते बनाउने अनि पत्रकार महासंघ मार्फत प्रहरीले आक्रमण गर्यो राज्यले प्रेसमाथि दमन गर्यो भनेर विज्ञप्ति जारी गर्न लगाउने यी र यस्ता गतिबिधि किन भैरहका छन ।

यसले थाहा हुन्छ की दुई तिहाई जनमतबाट आत्तिएको कांग्रेस र चुनावमा गोविन्द केसीलाई बेच्ने कोशिश गरे पनि नबिकेर चिन्तित भएको विवेकशील साझा पार्टी लगायले राज्य असफल पार्न यस्ता षडयन्त्र गरिरहेका छन । संसदबाट विधेयक पारित गर भन्ने तर विधेयक पारित गर्न नदिने जुनकाम कांग्रेसले गरिरहेको छ त्यसमा कांग्रेसनेतादेखि भारतीय दूतावसको नुनपानी खाएका वुद्धिजिवीहरु जसरी कुर्लिरहेका छन यतातर्फ पनि सचेत नागरिकले बेलैमा ध्यान दिन आवश्यक छ ।

अपिलमा जुलुशमा सहभागी नै नभएका सम्पादकहरूको समेत नाम लेखेर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १४:१३