२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीद्धारा पार्टी परित्याग (भिडियोसहित)

२१ असोज, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका अध्यक्ष भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन । बिहीबार पत्रकार सम्मेलन गरी जोशीले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी दिए ।

बिहीबार नेकपा एसको स्थायी कमिटीको सातौँ बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता हुन् ।

पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको जोशीले बताएका छन् । नेकपा एसमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : October 7, 2021 at 1:42 pm