२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

महाधिवेशन लगत्तै आन्दोलनमा होमिन्छाैँः कमल थापा

१९ असाेज, बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताउँदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् ।

पुर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुगेका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउँदै भ्रष्ट्राचारले देशलाई थला पारेको बताए। धर्मपरिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुकुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो ।

केन्द्रमा पार्टी एकतापछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार व्यक्त गरे । पार्टी सञ्चलनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत थापाले व्यक्त गरे । निष्ठा , सिद्धान्त र आदर्शको राजनीति अहिलेको आवश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रवादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता समेत औँल्याए ।

सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशव ओझाले जिल्लाको सांगठानिक अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित मिति : October 5, 2021 at 12:58 pm