नुवाकोटमा कांग्रेस र माओवादीका पाँच सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्दै
-प्रशान्तजंग पाण्डे
१३ असोज, नुवाकोट । नेकपा एमालेले नुवाकोटमा आज शक्ति प्रदर्शन गर्दैछ । एमालेले जिल्लास्तरीय भेलाका नाममा शक्ति प्रदर्शन गर्न लागेको हो । एमालेले जिल्लाका १२ वटै स्थानीय तहका नेता कार्यकर्ता उतारेर १० बुँदे सहमति अनुमोदनको सन्देश बाँड्न लागेको बागमती प्रदेशका कृषिराज्यमन्त्री समेत रहेका एमाले उपाध्यक्ष बद्री मैनालीले बताए ।

जिल्लाका करिब एक हजार बढी नेता कार्यकर्ता भेलामा सहभागी हुने र सबै तयारी पूरा भएको एमाले नुवाकोटका कोषाध्यक्ष काशिराज अधिकारीले जानकारी दिए । उनले भेलामा बागमती प्रदेशका मुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने जानकारी दिए । भेलामा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे लगायतले विशेष सम्बोधन गर्नेछन ।
एमालेले आफ्नो शक्ति प्रदर्शनकै क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरेका करिब पाँच सय नेता कार्यकर्तालाई स्वागत गर्ने तयारी गरिएको छ । एमाले नुवाकोटका नेता अनुजकुमार श्रेष्ठका अनुसार १२ वटै पालिकाबाट कांग्रेस र माओवादीको सदस्यता लिएर विभिन्न कमिटी र हैसियतबा बसेर काम गरिरहेका तीन जना र दुई सय भन्दा बढी शुभेच्छुक पार्टी प्रवेश गर्ने तयारीमा रहेको बताए ।

श्रेष्ठका अनुसार पाँच सय भन्दा बढी एमाले प्रवेश गरेको घोषणा गर्नेछन । श्रेष्ठका अनुसार पार्टी प्रवेश गर्ने तयारीमा रहेकामा सबैभन्दा बढी किस्पाङ, विदुर र लिखुका रहेका छन । सबैले हाल अवद्ध रहेको पार्टी छाडेर एमालेको राजनीतिमा जोडिन लागेका हुन । विदुरको कभर्ड हलमा बिहान ११ बजेका लागि भेला राखिएको बताइएको छ ।
जिल्लास्तरीय भेलामा जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र जनबर्गिय संघ संगठन तथा शुभच्छुक संस्थामा आबद्द पदाधिकारी एबं सदस्यहरू, संगठित सदस्य लगायत उपस्थित हुनेछन । नुवाकोटमा एमालेले पछिल्लो वर्षमा आक्रामक ढंगले संगठन विस्तार गरेको छ ।

यसअघि कमजोर संगठनका बाबजुद पनि चुनावमा राम्रो नतिजा निकालेको एमाले यस पटक स्थानीय निर्वाचनमा कम्तिमा ९ पालिका र संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रमा विजय प्राप्त गर्ने दाबी गर्दै आएको छ ।
यसअघि नेता भएन र नुवाकोटले मन्त्री पाएन भनेर गुनासो गर्ने एमालेका कार्यकर्ताका लागि पछिल्लो समय त्यो अवस्थाको समेत अन्त्य भएको छ । बागमती प्रदेशमा मात्रै नुवाकोटका दुइ जना मन्त्री रहेका छन ।

प्रकाशित मिति : September 29, 2021 at 9:11 am





